हेटौंडा उपमहानगरपालिकाको बजेटमा ३४ करोड रुपैयाँ वृद्धि भएको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट संशोधन गर्दै वृद्धि गरेको हो । १४ पुसमा भएको १२ औं नगरसभाको बैठकमा उपप्रमुख राजेश बानियाँद्वारा प्रस्तुत संशोधित बजेट अनुसार अब उपमहानगरको बजेट ३ अर्ब ५ करोड रुपैयाँ हुने भएको छ ।

असारमा आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट पारित भएको थियो । सरेर आएको योजना भुक्तानीका लागि थप बजेटसहित प्रदेश र संघबाट सरुवा भएर आएका कर्मचारीको व्यवस्थापन, खानेपानीको न्यूनतम महसुल भुक्तानीलगायत विकास निर्माणका योजनाका कारण बजेट बढेको हो । उपप्रमुख बानियाँका अनुसार–‘डम्पिङ साइट सुधार, फोहोर व्यवस्थापन उपकरण खरिद, अटो भिलेज तथा कृषि उपज थोक बजार केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको छ ।’ नगर सभामा हेटौंडाको उत्कृष्ट वडाको रुपमा काम गर्ने १४ नम्बर वडालाईं सम्मान गरिएको छ । सो वडाले २० लाख रुपैयाँ नगद अनुदान पुरस्कार पाएको छ । बैठकमा चालु आर्थिक वर्षमा गरिने कामका विषयमा उपमेयर राजेश कुमार बानियाँले समिक्षा समेत प्रस्तुतीकरण गरेका थिए ।

सभामा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाँई लगायतकाले सांसदहरुलाई स्वागत गर्दै मायाँको चिनो समेत दिएका थिए । सभाको उद्घाटन कार्यक्रमको अवसरमा हेटौंडा उपमहानगरपालिकाको विकासका लागि एक भएर लाग्ने मकवानपुरबाट निर्वाचित संघ र प्रदेशसभाका सदस्यहरुले प्रतिवद्धता जनाएका छन् । हेटौंडा उपमहानगरपालिका नगर कार्यालयका कार्यलयको आयोजनामा मकवानपुरबाट निर्वाचित भएका संघ र प्रदेशसभाका सदस्यहरुले यहाँको विकासका लागि दल भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रमका विशिष्ट अतिथी मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौंलाले नगरको विकासमा सबै एक जुट भएर लाग्न आग्रह गर्दै आफुले यस क्षेत्रको विकासका लागि संघीय सरकारबाट पहल गर्ने बताए । यहाँको विकासका लागि बजेटको कमी नभएको बताउँदै उनले भने–‘यहाँ बजेटको कमी छैन । तर, गुणस्तरिय काम हुन जरुरी छ । हेटौंडाको हुप्राचौरमा गौरवको आयोजना किन काम हुन सकेन समिक्षा गर्न जरुरी छ ।’ हेटौंडाको बस टर्मिनल छिटो बनाउन उनले निर्देशन दिए । हेटौंडा बजारको व्यवस्थित गरेर बाइपास सडक बनाउन आवस्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा निर्वाचित सांसद इन्द्र बहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्नेमा जोड दिए । अहिलेपनि प्रदेशसभाका सदस्यहरु हेटौंडाको राजधानी सार्न लागिरहेकाले यसलाई विकास गरेर महानगर बनाउनुपर्ने वताए । कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को (क) का सांसद एकालाल श्रेष्ठले हेटौंडामा तत्कालिन गर्नुपर्ने काम र दिर्घकालिन कामहरु निरन्तर गर्नुपर्ने बताए । विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो । मकवानपुर क्षेत्र नम्बर–१ को (क) का सांसद प्रेमबहादुर पुलामीले विकासमा सबैले एक ढिक्का भएर लाग्ने बताए ।

कार्यक्रममा प्रदेशसभाको तर्फबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

पूर्णपाठको लागि तलको लिंकमा क्लिक गर्नुहोला:

 

पालिका प्रेस
थप जानकारी