मकवानपुरको भीमफेदी गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आवेदन दिन आह्वान गरेको छ । आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले सूचना जारी गर्दै श्रमिकको भविष्य सुरक्षित बनाउन सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गरेको हो।

गाउँपालिकाका अनुसार घरायसी काम गर्ने श्रमिक, कृषि, निर्माण, यातायात तथा साना उद्यमलगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, मौसमी तथा दैनिक ज्यालादारी कामदार र छरिएर रहेका घरेलु कामदारले योजनामा सहभागी हुन सक्नेछन्।

गाउँपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई लक्षित गरी ल्याइएको योजनामा विशेषगरी घरायसी कामदार, कृषि तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, यातायात तथा साना उद्यममा संलग्न श्रमिक, मौसमी तथा दैनिक ज्यालादारी कामदार र घरेलु सहायक सहभागी हुन सक्ने जनाइएको छ । यस व्यवस्थाले औपचारिक रोजगारीको दायराबाहिर रहेका ठूलो संख्याका श्रमिकलाई सामाजिक सुरक्षाको पहुँचमा ल्याउने अपेक्षा गरिएको छ। रोजगारीको प्रकृति अस्थायी वा दैनिक ज्यालादारी भए पनि सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुन सक्ने भएकाले श्रमिकका लागि यो अवसर महत्वपूर्ण देखिएको छ ।

योजनामा सहभागी हुन इच्छुक श्रमिकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, स्थायी वा अस्थायी बसोबासको प्रमाण, सम्बन्धित वडा कार्यालयको सिफारिस, पासपोर्ट साइजको फोटो दुई प्रति र आफू अनौपचारिक क्षेत्रमा कार्यरत रहेको स्वयं घोषणापत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । यसका लागि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी प्रक्रिया अघि बढाउन सकिने गाउँपालिकाले जनाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि श्रमिकले विभिन्न सामाजिक सुरक्षा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । गाउँपालिकाको सूचनाअनुसार योजनाबाट दुर्घटना तथा स्वास्थ्य उपचार, वृद्धावस्थामा सुरक्षा, अशक्तता तथा मृत्यु लाभ लगायतका सुविधा उपलब्ध हुनेछन्।

पालिका प्रेस
थप जानकारी