बाजुराको गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय नमुना युवा संसद् अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम गौमूल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति बाजुराको सहयोगमा सुरु भएको हो ।

युवाको क्षमता वृद्धि तथा सशक्तीकरण र नमुना युवा संसद्द्वारा सत्ता सञ्चालनको अभ्यासबारे ४ दिनसम्म सहभागीलाई प्रशिक्षण दिइने राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति बाजुराका अध्यक्ष कृष्ण थापाले बताए । कार्यक्रममा युवालाई संसदीय अभ्यास, मूल्य–मान्यता, मर्यादा र संसद् सञ्चालनको प्रक्रियाबारे जानकारी गराइनेछ । युवाको नेतृत्व विकासका लागि भूमिका निर्वाह गर्ने गरी युवा संसद् स्थापना र अभ्यास कार्यक्रमबाट राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, विभिन्न मन्त्री, प्रमुख सचेतक नियुक्तिका लागि नमुना निर्वाचन हुने कार्यक्रमका प्रशिक्षक मदनराज जैशीले जानकारी दिए ।

गाउँपालिकाभरिका माध्यमिक विद्यालय, युवा क्लबबाट प्रतिनिधित्व हुने गरी २४ वर्षमुनिका युवाको नमुना संसद् निर्वाचनमा सहभागिता गराइने जैशीले बताए । गौमूल पालिका केन्द्र घट्मुनामा उद्घाटन गरिएको कार्यक्रममा पालिका अध्यक्ष हरिबहादुर रोकाया प्रमुख अतिथि थिए भने उपाध्यक्ष सीता थापा विशिष्ट अतिथि रहेकी थिइन् । कार्यक्रममा ६ वटै वडाका वडाध्यक्ष, विद्यार्थी नेता, पत्रकारलगायत युवाको सहभागिता थियो । पछिल्लो समयको युवा पुस्ता भविष्यमा कुनै पनि जिम्मेवारीमा पुग्न सक्ने भएकाले नमुना संसद्को अभ्यास गराइएको पालिका अध्यक्ष रोकायाले बताए ।

पालिका उपाध्यक्ष थापाले अहिलेको युवा पुस्ता भविष्यमा देशको जिम्मेवारी काँधमा लिएर हिँड्न सक्षम भएकाले नमुना संसदीय अभ्यास जरुरी रहेको बताइन् । कार्यक्रम सञ्चालन गौमूल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी