गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । यस अवसरमा गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा विविध कार्यक्रम गरेर थाहा नगरपालिका वडा नम्बर ५ को फुर्केमा मनाइइको छ ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् इकाई समिति थाहा नगरपालिका वडा नम्बर ५ फुर्केको आयोजना तथा नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको सहआयोजनामा कार्यक्रम भएको हो । तमु ह्युलका इकाई अध्यक्ष तथा केन्द्रिय सदस्य बल बहादुर गुरुङको अध्यक्षता तथा थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तमु ल्होसारको बारेमा र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमु विद्यार्थीका केन्द्रिय सदस्य अमृता गुरुङले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार‘ भनिएको बताउदै यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने तथा ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको बताइन् । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन् । उनले गुरुङ समुदायको संस्कृति तथा रहनसहन लाई पुस्तानान्तरण गर्दै लानुपर्नेमा जोड दिइन् ।

ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । गुरुङ परम्पराअनुसार वर्षका १२ महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन। यसपटक तमु (गुरुङ समुदाय)ले ‘तो ल्हो’ (बाघ वर्ग)को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग)को स्वागत गरेर भव्य रूपमा पर्व मनाएका हुन् । तमु ल्होसारको पहिलो दिन छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिने र दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ । ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि हुन्। बाँसको टोकरीमा राखेको सेलरोटी, तामा या पित्तलको भाँडामा राखेको अचार, तरुललगायतका कन्दमूल र मासु यो पर्वमा मनाइने थाहा ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङले बताए ।

ल्होसार चाड मनाउन युवा पुस्ताको उल्लेखनीय सहभागिता थियो । पर्व सँगै जातीय भेषभुषा, पहिचान, संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि युवाहरुको सक्रियता बढेको गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य तथा इकाई अध्यक्ष बल बहादुर गुरुङले बताए । ल्होसार चाड सामूहिकरुपमा मनाउँदा नयाँ पुस्ता र अन्य समुदायलाई पनि चासोको विषय बनेको उनको भनाइ थियो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा भने माघ र फागुनमा यो पर्व मनाइन्छ ।
कार्यक्रममा तमु विद्यार्थीका केन्द्रिय सदस्य अमृता गुरुङ, ५ नम्बर वडाका निर्वाचित जनप्रतिनिधिहरु ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, तमु विद्यार्थीका जिल्ला कार्यसमिति सदस्यहरु, तमु समाजका जेष्ठ सदस्य गणेश बहादुर गुरुङ, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पत्रकार शम्भु अधिकारी्लगायतका उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी