काठमाडौंको टोखा नगरपालिकाले चालू आर्थिक वर्षको ५ महिनामा ११ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । १६ पुसमा सम्पन्न दसौँ नगरसभामा नगरपालिकाले राजस्व संकलन र विकास निर्माणलाई अगाडि बढाएको बताएको छ ।

कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको जानकारी दिए । उनले भने, ‘कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ ।’ टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उनको भनाइ छ ।

नगर उपप्रमुख ज्ञानमाया डंगोलले नगरसभाबाट पारित भएको बजेटलाई यथासक्य छिटो कार्यान्वयनमा लैजाने बताइन् । दसौँ नगरसभा कांग्रेसले वहिष्कार गरेको छ । नगरपालिकाको बैठक बसेर निर्णय गर्नुभन्दा पहिले नै हस्ताक्षर गराउने परिपाटी सुरु गरिएको भन्दै कांग्रेसले बैठक वहिष्कार गरेको हो ।

बैठक वहिष्कार गर्नेमा वडा नम्बर २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नम्बर ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष महेश्वर केसी, वडा नम्बर ८ का वडाध्यक्ष केशवबहादुर खत्री र वडा नम्बर ११ का वडाध्यक्ष उत्तम अधिकारी रहेका छन् । वडा नम्बर ८ का वडाध्यक्ष खत्रीले नगरप्रमुखले एकलौटी बैठक सञ्चालन गर्न खोजेपछि बैठक वहिष्कार गरेको बताए ।

पालिका प्रेस
थप जानकारी