मकवानपुर थाहा नगरपालिकाको १२ औं नगरसभा सकिएको छ । थाहानगरको पालुङ जेसीज सभाहलमा सभा भएको हो । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको सभाध्यक्षतामा सभा भएको हो ।

कार्यक्रममा नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनीधि तथा संघसंस्थाका प्रतिनीधिहरुले शुभकामना व्यक्त गरेका थिए । सभाको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशीले थाहानगरको पर्यटकीय क्षेत्रको विकास गर्न अपरिहार्य रहेको बताए । उनले समयसापेक्ष स्थान विशेष पर्यटकीय संभावनालाई पहिचान गरी विकास गर्नुपर्ने औल्याए । सभापति जोशीले भने–‘इन्द्रसरोवरमा जलमा आधारित पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ, हाम्रो के मा ? यसको संभावयता अध्ययन गर्न ढिलो भैसकेको छ ।’ उनले पर्यटकहरुका लागि होटल तथा पर्यटन व्यवसायीको आनीबानी पनि पर्यटन मैत्री हुनु आवश्यक रहेको स्मरण गराए । नेकपा एमा बागमती प्रदेश सदस्य श्यामभक्त श्रेष्ठले जनचाहाना अनुसार जनप्रतिनीधिहरुले काम गर्न आवश्यक भएको बताए । नेता श्रेष्ठले किसानले रासायनिक मल अभाव खेप्नू परेको बताउँदै भने–‘अनुदानको डि.ए.पी. मल नपाएर हाहाकार भैरहेको बेला कालोबजारी गरेर बजारमा रासायनिक मल बेचिरहेका छन् कसरी यस्तो भैरहेको छ ?’ उनले प्रश्न गर्दै भने किसानलाई सहजै मल किन्न पाउने वातावरण बनाउन जनप्रतिनीधि लाग्नू परो ।

नेकपा माओवादी केन्द्र थाहानगरका सचिव लक्ष्मण विष्टले पालिकाले गर्ने विकास निर्माणमा गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताए । उनले नगरले गर्ने सडक ढलान तथा अन्य पूर्वाधार विकासका काम दीगो हुने गरी दूरगामी सोच राखेर संचालन गर्नुपर्ने औल्याए । पालिकाबाट हुने सेवा प्रवाहमा कर्मचारीको अनुपस्थित दर घटाउन र सेवाप्रति जनउत्तरदायी हुने सन्दर्भमा कर्मचारी गम्भीर भएमात्र नागरिकले सहजै सेवा र गुणस्तरीय विकास पाउने तर्फ ध्यानाकर्षण गराए । पालिकाको आन्तरिक आय जबसम्म बलियो हुँदैन तबसम्म स्थानीय तह बलियो हुन नसक्ने थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । स्थानीय तहको मेरुदण्ड नै आन्तरिक आय भएकोले यसको वृद्धि गर्ने र चुहावट नियन्त्रणमा विशेष ध्यान दिनूपर्ने महासचिव प्रधानको भनाइ थियो । प्रधानले आफू पनि स्थानीय राजश्व परामर्श समितिको सदस्य भएकोले पालिकासंग सहकार्य र के सहयोगर्नु पर्छ त्यसका लागि तयार रहेको बताए । आन्तरिक आय वृद्धि गर्नका लागि थाहानगर उद्योग वाणिज्य संघ सहकार्य गर्न तत्पर रहेको उनको भनाइ थियो ।

नगर सभा उद्घाटन कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपालीले अतिथी तथा सभा सदस्यहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका थाहानगर उपाध्यक्ष राधेश्याम रायमाझी, पालुङ जेसिज वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष सञ्जय गोपाली, च्वाइस नेपालका घनश्याम थापा, इलाका प्रहरी कार्यलय प्रतिनीधि, पालिकाका कर्मचारी तथा जनप्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।