मकवानपुर थाहानगरको पालुङ जेसिज सभाहलको मुल गेट आघिल्तिर एउटा सूचना टाँसिएको थियो । कोहीले त्यो सूचना पढेका थिए भने कसैले वास्तै गरेनन् । तर थाहाको नगरसभामा भाग लिन जम्मा भएका जनप्रतिनीधिहरुले खुट्याइहाले, नगरसभा दिउँसो १ बजे शुरु हुँदैछ । जनप्रतिनीधिलाई उपलब्ध गराइएको सभाको कार्यसूची नै हलको अघिल्तर टाँसिएको देखेपछि उनीहरुले थाहा नपाउने कुरै भएन ।

भरत गोपाली

थाहा नगरपालिकाको आयोजनामा भएको नगरसभाको उद्घाटनसत्र सकेर हल बाहिर निस्केका जनप्रतिनीधिहरुका लागि केहीबेरमै घण्टी बज्यो । संसद भवनमा जस्तै । सबै प्रतिनीधी हल भित्र प्रवेश गरे । अघिल्लो लाइनमा वडाध्यक्ष, त्यसपछि कार्यपालिका सदस्य र क्रमशः सबै नगरसभा सदस्यहरु मिलेर बसेका थिए । उनीहरु अधिकांश औपचारिक पोशाकमा थिए । हलमा जनप्रतिनीधिहरु प्रवेश गरेको केही बेरमै नगर प्रमुख विष्णु बहादुर विष्टको पनि प्रवेश भयो । सबै नगरसभा सदस्य उठेर सम्मान व्यक्त गरे । नगर प्रमुख आफ्नो आशनमा पुग्ने वित्तिकै राष्ट्रिय गान बजिहाल्यो । सबै त्यही गानमा सहभागी भए । नगर प्रमुखको आसन ग्रहण भयो अनि, सबै सदस्य आ–आफ्नो स्थानमा बसे । यो हो, २८ पुस दिउँसो भएको १२ औं थाहानगर सभाको दृश्य ।

नगरसभा सदस्यहरु

    सभामा न कुनै कर्मचारीले कार्यक्रम चलाउन तम्सेका थिए न त उद्घोषण । नगर प्रमुख विष्टले नगरसभा बैठक प्रारम्भ भएको घोषणा गरिहाले । बैठकको कार्यसूची अनुसार नगरसभा उपाध्यक्ष तथा नगर उपप्रमुख भरत गोपालीलाई आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम एवम् बजेट समिक्षा सहितको संशोधित बजेट वक्तव्य पेश गर्न सभा अध्यक्ष एवं नगर प्रमुख विष्णु बहादुर विष्टले समय उपलब्ध गराए । गोपालीले रोष्टमबाट वक्तव्य सुनाए । नगर प्रमुख विष्टले वक्तव्य माथि बोल्न चहाने सभा सदस्यलाई नाम टिपाउन समय दिए, समिक्षा सहितको संशोधित बजेट वक्तव्यमाथि छलफलका लागि सयम छुट्याए ।

नगरसभा सदस्यहरु

कार्यसूची अनुसार स्थानीय वन ऐन पास गर्नका लागि थाहानगरको वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिरेन्द्र कुमार रायमाझीले प्रस्ताव पेश गर्न सभा अध्यक्ष विष्ट मार्फत समय पाए । संयोजक रायमाझीले ऐन प्रस्ताव गर्नुको औचित्य सहित प्रस्ताव गरे । सभा अध्यक्षले त्यसका लागि पनि सभा सदस्यहरुलाई छलफलको लागि समय उपलब्ध गराए । दुवै प्रस्तावमा कुनैपनि मतभेद नभएपछि क्रमशः नगरसभा उपाध्यक्ष गोपालीलाई आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम एवम् बजेट समिक्षा सहितको संशोधित बजेट वक्तव्य र वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक रायमाझीलाई स्थानीय वन ऐन पास होस भनी प्रस्ताव राख्न विष्टले समय दिए र उनीहरुले सभा अध्यक्षको निर्देशन बमोजिम गरिहाले ।

नगरसभा सदस्यहरु

सभामा राखिएका प्रस्तावहरु कार्यसूची बमोजिम नै ध्वनि मतका आधारमा पास भयो । सबै प्रस्तावहरुमा सभा अध्यक्ष विष्टले प्रस्तावको पक्षमा हुनेले ‘हुन्छ’ र प्रस्तावको विपक्षमा हुनेले ‘हुन्न’ भन्नुहोस् भनी ध्वनि मतका आधारमा सभामा संसदीय अभ्यास गराएका थिए । बागमती प्रदेशले कार्यान्वयनमा ल्याएको नगरसभा संचालन सम्बन्धी कार्यविधि बमोजिम सभा संचालन भएको प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले प्रतिक्रिया दिए । ‘पालिका प्रतिनीधिहरुलाई संसदीय अभ्यासमा जाँदा कठिनाइ हुन्छ की भन्ने लागेको थियो सबै कर्मचारी र प्रतिनिधिको सहयोगमा सजिलै सभामा संसदीय अभ्यासमा भयो, सबैप्रति आभार व्यक्त गर्दछु ।’

हिरेन्द्र कुमार रायमाझी