बागलुङको बडिगाड गाउँपालिकाको दसौँ गाउँसभा ग्वालीचौरमा सम्पन्न भएको छ । सभाले बडिगाड गाउँपालिकाको कला, भाषा, संस्कृति संरक्षणका लागि कला, भाषा, संस्कृति संरक्षण ऐन, २०७८, स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि स्वास्थ्य व्यवस्थापन ऐन, २०७८ र टोल विकास संस्था गठन तथा सञ्चालनका लागि टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि, २०७८ पारित गरेको छ ।

त्यस्तै, सभाले चालू आर्थिक वर्षको बजेट संशोधन गरेको छ । नवौँ गाउँसभाबाट विनियोजित २ करोड ८८ लाख रुपैयाँ बजेटबाट नयाँ कार्यक्रमसमेत बनाएको छ । बडिगाड गाउँपालिकाभित्रका १० वटै वडामा निर्माणाधीन वडा कार्यालय सम्पन्न हुने गरी बजेट विनियोजन गरेको सूचना अधिकारी थम्मनबहादुर रेश्मीले जानकारी दिए । गाउँपालिकाले चालू वर्षमै पालिकाको प्रशासकीय भवनसँगै सबै वडामा वडा कार्यालय निर्माण गर्ने योजनासहित अगाडि बढेको छ । गाउँसभामा पालिका उपाध्यक्ष अम्मरबहादुर श्रीसले संशोधनसहितको विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।

विषयगत समिति संयोजक बोमबहादुर थापा, खड्क पुन, अर्जुनप्रसाद खरेलले पारित गरिएका ऐन तथा कार्यविधिसम्बन्धी विधेयक सभामा प्रस्तुत गरे । सभा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीको सहजीकरणमा सम्पन्न भएको हो ।

पालिका प्रेस
थप जानकारी