अनुदान रकम सदुपयोग गर्न नसकिएको महशुस गरी मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६ जना स्थानीय युवाले गाउँपालिकालाई नै रकम फिर्ता गरेका छन् । वि.सं. २०७६ सालमा गढीका ६ जना सञ्चालकले बागमती साबुन उद्योग दर्ता गरेका थिए । आथिक वर्ष २०७६–०७७ मा गाउँपालिकाबाट लिएको पाँचलाख चौसठ्ठी हजार चारसय पचास रुपैयाँ स्थानीय युवाले फिर्ता गरेका हुन् । कोभिड १९ का कारण व्यवसाय फस्टाउन नसकेको, जडान गरेका उपकरण बिग्रीएको कारण उद्योग सञ्चालन गर्न समस्या देखिएपछि सञ्चालक समितीको बैठक बसेर अनुदान रकम फिर्ता गर्ने निर्णय गरिएको थियो ।

उनीहरुले गाउँपालिकाको राजस्व खातामा नगद रकम दाखिला गरी भौचर गाउँपालिकालाई बुझाएको उद्योगका सञ्चालक गोबिन्दराज दुलालले बताए । स्थानीय युवाहरु गोबिन्दराज दुलाल, सन्तोष घिमीरे होमनाथ दाहाल, यम प्रसाद आचार्य, सुरेन्द्र तिमल्सिना र शुशील तिमल्सनाले अनुदान रकम फिर्ता गरेका हुन् ।

सर्वसाधारणले तिरेको करबाट लिएको अनुदान सदुपयोग गर्न नसेकोको भन्दै उनीहरुले रकम फिर्ता गरिएको बताएका छन् ।

पालिका प्रेस
थप जानकारी