बागमती प्रदेशको राजधानी हेटौंडाले फुटबलका खेलाडी उत्पादनको लक्ष्य सहित एकेडेमी सञ्चालन गर्ने तयारी थालेको छ । फुटबलका लागि उर्वर भूमिको रुपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्य सहित खेलको विकास र प्रवद्धनका लागि उपमहानगरपालिकाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको हो ।

जिल्लामा सञ्चालन हुने प्रतियोगिता र राष्ट्रिय स्तरका खेलमा हेटौंडाको उत्पादनलाई समावेश गराउँर्दै नगरको नामलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित उपमहानगरपालिकाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै ‘हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९’ स्विकृत गरेको छ । कायविधि स्विकृतीसँगै नगरमा खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ ।

स्थानीय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधी स्विकृत गरेको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । कार्यविधि स्विकृतीसँगै उपमहानगरपालिकामा आवासिय सुविधा सहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । कार्यविधि अनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखी १४ वर्ष उमेर समुहका महिला तथा पुरुष खेलाडी मध्य अव्वललाई छनौंट गरी एकेडेमीमा राखेर खेल कौशललाई थप निखारता दिइने बताइएको छ ।

पारित कार्यविधि अनुसार उपमहानगर क्षेत्रका हरेक वडाबाट १/१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अव्वल खेलाडी सहित ४५ जनालाई ‘क्लोज क्याम्प’ मा राखेर नियमित प्रशिक्षण सहित आवास, खानपान, शिक्षा र स्वास्थ्य उपचार सुविधा सहित एकेडेमी सञ्चालन गरीने उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । एकेडेमीमा नगरका ४५ जना महिला तथा पुरुष खेलाडीलाई आवासिय सुविधा सहित प्रशिक्षण गराउनका लागि उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० का लागि ७५ लाख रुपियाँ रकम विनियोजन गरेको छ । पारित कायविधि अनुसार मकवानपुर जिल्ला फुटबल संघसंँगको सहकार्यमा उपहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि निर्देशन दिने छ ।

कार्यविधि पास भएसँगै अब जिल्ला फुटबल संघ मकवानपुरसँग फुटबल एकेडेमी सञ्चालनका लागि औपचारिक सम्झौताको काम अघि बढाउने तयारीमा उपमहानपालिका रहेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार फुटबल खेलको उर्वर भुमिको रुपमा रहेको मकवानपुरमा सञ्चालन हुने एकेडेमीबाट उत्पादन हुने खेलाडीले राष्ट्रिय स्तरमा नाम कमाउन सक्ने विश्वास उपमहानगरले लिएको छ । जिल्लामा हुने दुई वटा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत स्थानीय टोलिमा बाहिरका अव्वल मानिएका खेलाडि समावेस गराउन पर्ने बाध्यतालाई एकेडेमी सञ्चालन पछि समस्या टर्ने विश्वास उपमहानगरपालिकाले लिएको छ ।

पालिका प्रेस
थप जानकारी