मकवानपुर थाहानगरमा सञ्चालन भइरहेको वृहत्त खानेपानी आयोजनाको काम द्रुत गतिमा भइरहेको पाइएको छ । १९ माघमा खानेपानी आयोजनाको निर्माण कम्पनी र थाहानगर प्रमुख विष्णु बहादुर विष्टबीच भएको छलफलमा यस्तो बताइएको हो ।

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ का बासिन्दाका लागि निर्माण थालिएको पालुङ वृहत्त खानेपानी आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भएको सुपरभाइजर विकास लामाले जानकारी दिए । उनका अनु्सार १ सय २३ किलोमीटर पाइपलाईन विस्तार गर्ने सम्झौता भएकोमा ३१ किलोमिटर र ३७ पानी ट्याङ्की तथा ट्रिटमेन्टप्लान्ट निर्माण गर्नुपर्नेमा १३ वटा अन्तिम चरणमा पुगेको छ । दुईवर्ष भित्र निर्माण सक्ने आयोजनाको लक्ष्य रहेको छ । छलफलमा गुणस्तरीय निर्माण सामाग्री प्रयोग गर्ने तथा छुट भएको गाउँटोललाई समेट्ने विषयमा पनि छलफल भएको थाहानगर प्रमुख विष्णु विष्टका प्रेस संयोजक शम्भु अधिकारीले जानकारी दिए ।

आयोजनाबाट छुट हुन पुगेका गाउँटोलमा खानेपानी विस्तारका लागि तत्काल तथ्याङ्क संकलन गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नगरपालिका र निर्माण व्यवसायीबीच छलफल गरी निर्णयमा पुगिने नगर प्रमुख विष्टले बताए । ‘अब छिट्टै तथ्याङ्क संकलन गरी बैठक बस्छौं, सबै नगरबासीलाई शुद्ध र गुणस्तरीय खानेपानीको व्यवस्था गरेरै छाड्छौं’ प्रमुख विष्टले भने ।

पालिका प्रेस
थप जानकारी