मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ । चौध कोठे भवनको थाहनगर प्रमुख विष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपालीले संयुत्तः रुपमा २० माघमा शिलान्यास गरेका हुन् । च्वाइस नेपाल र थाहा नगरपालिकाको आर्थिक सहयोगमा चित्लाङ स्वास्थ्य चौकी भवन निर्माण हुने भएको हो । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख विष्टले नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास गरिएको बताए ।

  सामान्य विरामी हुँदा पनि घर नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा लिनका लागि विष्टले आग्रह गरे । नगरिककाको दुःख सुखमा साथ दिने गाउँको सरकार भएकाले समस्या पर्दा पालिकालाइृ सम्झन उनले आग्रह गरे । प्रमुख विष्टले स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय निर्माण कार्य गर्न आग्रह गरे । कार्यक्रममा सहयोगी दाता च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास गर्ने उद्देश्य रहेको बताउदै निर्माण कार्य सम्पन्न भएपछि पनि च्वाइसले अस्पतालमै सुत्केरी, सवैलाई स्वास्थ्य सेवा, आकस्मिक सेवा, प्राविधिकलाई तालिम तथा दक्ष जनशक्ति उत्पादन गरि सेवा प्रदान गरिने बताउदै नमुना काम गरी गुणस्तरीय काममा ध्यान दिन निर्माण समितीलाई आग्रह गरे ।

२ करोड १० लाख बजेट रहेको योजनामा च्वाइस नेपालले १ करोड ५० लाख तथा थाहा नगरपालिकाको ५० लाख सहित च्वाइसको प्राविधिक सहयोग रहने र डेढ वर्षमा निर्माण पूरा गर्ने लक्ष रहेको च्वाइसका प्रताप घिमिरेले बताए । स्वास्थ्य चौकी निर्माण समितिका अध्यक्ष राजिव नापितको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, ९ नम्बर वडा अध्यक्ष राजकुमार बलामी, राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीयको उपस्थिति रहेको थियो।