अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२१ को तुलनामा सन २०२२ मा मानव अधिकार उल्लंघनको घटना बढेको सार्वजनिक गरेको हो ।
इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ प्रकाशन गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेक बागमती प्रदेश कार्यालय संयोजक गणेश भण्डारीले राज्यपक्ष कमजोर हुंदा मानव अधिकार संरक्षणको पाटो झन्झन् कमजोर भएको बताए ।
इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ४ सय २५ जना पीडित भएका छन् । यो सङ्ख्या गत वर्ष सन् २०२१ भन्दा २ सय २४ जनाले बढी हो । गत वर्ष सन् २०२१ मा १ हजार १ सय ८३ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ पुरुष गरी जम्मा ३ सय ७५ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला, १ सय ७२ जना पुरुष र १ जना अन्य यौनिक अल्पसङ्ख्यक) सहित जम्मा १ हजार ५० जना पीडित भएको भण्डारीले बताए ।
यस वर्ष राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भएको उल्लेख छ । साथै कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना तथा अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३० जना महिला र २ सय ४५ जना पुरुष गरी २ सय ५५ जना पीडित भएका छन् ।
यसैगरी सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए जसमा राज्यपक्षबाट ३ सय ७५ जना र अन्यपक्षबाट ८ सय ९० जना पीडित भएका थिए ।
महिला अधिकार उल्ङ्घनका घटनामा सन् २०२२ मा बागमती प्रदेशमा ४ सय ३४ जना पीडित भएको अभिलेख इन्सेकले गरेकोछ । यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा ३ जना, बलात्कारका घटनामा १ सय ७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना र यौन दुर्व्यवहारको घटनामा १७ जना महिला पीडित भएको अभिलेख छ ।
साथै परिवारजनबाट महिला मारिएका केही घटनामा पीडितपक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको पाइएको इन्सेकले जनाएको छ ।
यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २ जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा २ सय ८५ जना, यौन दुर्व्यवहारको घटनामा १ जना बालक सहित १ सय २ जना, बालबालिका बेचबिखनमा ७ जना बालकसहित १८ जना, बालबिवाहका दुई ओटा र विद्यालयमा शारीरिक सजाय दिइएको २ जना बालिका र ४ जना बालक गरी ६ जना पीडित भएको अभिलेख भयो ।
इन्सेकका अनुसार देशको ७७ जिल्लामा रहेका जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्राथमिक सूचनामा आधारित छ ।
इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्यपक्षबाट ६ सय २२ जना तथा अन्यपक्षबाट ६ हजार ७ सय ५४ जना गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख छ । सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए । गत वर्षभन्दा यो वर्ष १ हजार ९१ जनाले बढी हो । जसमा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५ सय ७२ जना पुरुष गरी जम्मा ६ सय २२ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ जना पुरुष र ३ जना अन्य (यौनिक अल्पसङ्ख्यक) गरी जम्मा ६ हजार ७ सय ५४ जना पीडित भएको अभिलेख छ ।
यस वर्ष राज्यपक्षबाट १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको हत्या भएको थियो । यातनाका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ८१ जना, जातीय विभेदका घटनामा २२ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ४ सय ५ जना, धम्कीका घटनामा २७ जना र कुटपिटका घटनामा ४ सय ४८ जना पीडित भएको अभिलेख भयो ।
यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय १४ जना बालिका र ३९ जना बालक गरी जम्मा १ हजार ४ सय ५३ जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा १ हजार ९ जना, यौन दुर्व्यवहारको घटनामा ३ सय २६ जना बालिका र १९ जना बालक सहित ३ सय ४५ जना बालबालिका बेचबिखनमा ७ जना बालक र ३९ जना बालकसहित ४६ जना, बालविवाहका ३२, नवजात शिशु हत्या ७ ओटा र विद्यालयमा शारीरिक सजाय दिइएको घटनामा १४ जना पीडित भएको अभिलेख भयो ।
साथै यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ४ हजार २ सय २७ जना पीडित भएको अभिलेख भयो । यस वर्ष महिला बेचविखन तथा ओसारपसार प्रयासका घटनामा ४८ जना, घरेलु हिंसाका घटनामा ३ हजार २१ जना, कथित बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारको घटनामा ४२ जना र बहुविवाहका घटनामा ४२ जना महिला पीडित भएको अभिलेखमा उल्लेख छ ।
इन्सेकले हरेक बर्ष फागुन ७ गते देशैभरको मानव अधिकारको अवस्था बारेको पुस्तक सार्वजनिक गर्दै आएको छ । आज प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेश कार्यालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
-सहीखबरबाट














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्