ऋषेश्वर । फाइल फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वर महादेव स्थान परिसरमा यहि १६ र १७ फागुनमा वृहत विश्वशान्ति महायज्ञ पुजा हुने भएको छ । यसअघि महायज्ञ पुजा दुईपटक भैसकेको र यो तेस्रोपटक हुन लागेको कार्यक्रमका प्रमुख लामा पवन तितुङले बताए । ऋषेश्वर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको संयुक्त आस्थाको केन्द्र हो ।

लामा पवनले सुरुमा आफ्नै पहलमा धर्म संस्कृतिको संरक्षण एवं ऋषेश्वर तिर्थ क्षेत्रको प्रचारप्रसार र विकास गर्ने उद्देश्यले अभियानको थालिएको हो । पवनसंगै अन्य लामा गुरुहरु र धार्मिक संगठनहरुको सहकार्यमा विश्वशान्ति महायज्ञ हुँदै आएको लामा गुरु पवनले बताए । विश्वशान्ती पुजा धर्म, संस्कृतिको रक्षा, विश्वशान्ति र ऋषेश्वर तिर्थ क्षेत्रको सम्पुर्ण विकास गर्ने प्रमुख उद्देश्य रहेको लामाले बताए । हिन्दु धर्मावलम्बीले ऋषेश्वर महादेव र बौद्धमार्गीले पद्यसम्भव (छिमि झ्याङछुप) का रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् ।

लुम्बिनी विश्वविद्यालयका बुद्धिजम तथा पिस स्टडिजका उपप्राध्यापक पुष्पबहादुर गुरुङका अनुसार सातौँ शताब्दीमा पद्यसम्भव काठमाडौँ हुँदै चीन जाने क्रममा दामन र फर्पिङमा बसेर गएको विश्वास गरिन्छ । उनी भन्छन्, ‘यो गुफालाई हिन्दु धर्मावलम्बीले भन्दा पनि बुद्धिष्टहरुले बढी विश्वास गर्ने गरेका छन्, यो गुफालाई दुवै धर्मको तिर्थस्थलका रूपमा लिने गरिएको छ ।’ पद्यसम्भव गुरु आएर ऋषेश्व्मा ध्यान गर्न बसेको लामा गुरु निमा लामा बताउँछन् । उनी भन्छन्–‘ उँहाँ बसेको स्थानमा उहाँकै आकृति बनेको छ, यो आकृतिलाई हिन्दु र बौद्ध दुवै थरीले पूजापाठ गर्ने गर्छन् ।’ पद्मसंभवले तपस्या गर्ने क्रममा पानीको अभाव भएपछि ध्यान गरेर पानी निकालेको समेत बताइन्छ । मन्दिर परिसरमा पानी अझैसम्म अनवरत रुपमा मुलको रुपमा आइरहेको छ ।

पालिका प्रेस
थप जानकारी