मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी चैत पहिलो सातादेखि अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । दोस्रो संस्करणको प्रतियोगिताका लागि जिल्ला समन्वय समिति मकवानपुरले ७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

चैत ११ गतेसम्म हुने प्रतियोगिताको विजेता नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमको सदस्य खेलाडी सोही पालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । विभागीय टिम र ए डिभिजन क्लबमा आवद्ध खेलाडीले खेल्न पाउने छैन भने ३० वर्षभन्दा कम उमेरका खेलाडी मात्रै सहभागी हुन पाउने छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रवेश निशूल्क गरिने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले जानकारी दिए ।

पुरस्कार राशी थप गर्नका लागि पालिकाहरुसँग पनि बजेट माग गर्ने योजना रहेको अध्यक्ष खड्गीले बताए । जिल्ला समन्वय समितिले उपलब्ध गराउने बजेटबाट पुरस्कार वितरणमै करिब आधा बजेट खर्च हुने उल्लेख गर्नुहुँदै बाँकी रकमले अन्य व्यवस्थापकीय कार्य गर्नुपर्ने अध्यक्ष खड्गीले बताए ।

पालिका प्रेस
थप जानकारी