बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मन्त्री मोक्तानले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको उपलब्धीलाई जोगाई संस्थागत गर्न आवश्यक भएको बताएकीछिन् । मन्त्री मोक्तानले सबैखाले लैङ्गिक विभेद र असमानता तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन श्रमिक महिला दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने बताइन् । २४ फागुनमा अन्तराष्ट्रिय नारी दिवस मूलसमारोहमा सम्बोधन गर्दै मोक्तानले यस्तो बताएकी हुन् ।

देशमा गणतन्त्र स्थापना र नयाँ संविधान जारी पश्चात् महिलाहरुले अधिकारै पाएको छैन भन्न नसुहाउने बताइन् । उनले थपिन्–‘यसअघि ५ प्रतिशत अधिकारमा थन्किएको महिलाहरु अहिले सम्पतिमा समान अधिकार प्राप्त हुने स्थितीसम्म आइपुगिसकेको तर व्यवहारमा भने लागू हुन सकेको छैन, जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको यो उपलब्धि रक्षा ्र कार्यान्वयनको निम्ति हामी सँधै एकजुट छौं ।’ अहिले कानूनतः राज्य व्यवस्था संचालनमा महिलाहरुको समान अधिकार हुनुपर्ने मोक्तानको भनाइ थियो । मन्त्री मोक्तानले महिला संघर्षले प्राप्त ३३ प्रतिशत महिला समानुपातिक व्यवस्था अनिवार्य नभएको भए अझै पनि महिलाहरुलाई प्रतिस्पर्धामै आउन नदिने खेल भैरहने बताइन् । उनले महिलाहरुको लागि छुट्टाएको आरक्षणलाई दलहरुले गलत प्रयोग गरिरहेको बताउदै संघर्षको बलले प्राप्त उपलब्धि महिला आफैले जोगाउनुपर्ने बताइन् ।

थाहा नगरपालिकाको सहयोग तथा लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्था र चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुल समारोह कार्यक्रममा वक्ताहरुले महिला भएकै कारण हुने लैङ्गिक विभेद, शोषण र असमानताको सामना गर्नु परिरहेको बताएका थिए । उनीहरुले महिला र पुरुष भनी विभेद विना अधिकार र कायाृन्वयन र कर्तव्य पालना गर्नुपर्ने बताएका थिए । नेपालमा यो दिवस ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाइएको छ । कार्यक्रमको अवसर पारेर थाहानगर भित्रका फरक क्षमता भएका वडैपिच्छे एक/एक जना महिलाहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथी मोक्तानले कदरपत्र र दोसल्ला तथा मायाँको चीनो (तातोपानी तताउने विद्युतीय कित्ली) वितरण गरिन् । यसरी सम्मानित हुने फरक क्षमता भएका महिलाहरुमा थाहा नगरपालिका वडा नम्बर १ की चरीमाया गोपाली, २ नम्बरकी सावित्री देउला, ३ नम्बर वडाकी नानिमाया गोपाली, ४ नम्बरकी ठुलिमाया रुम्बा, ५ नम्बर वडाकी दुर्गा कार्की, ६ नम्बरकी बिष्णु माया श्रेष्ठ, ७ नम्बरकी टिकाकुमारी थिङ, ८ नम्बरकी सुमित्रा घलान, ९ नम्बर वडाकी भावना गमाल, १० नम्बर वडाकी जुना केसी, ११ नम्बर वडाकी सानुमाया थोकर र १२नम्बर वडाकी कल्पना गोले छिन् ।

थाहा नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तानको अध्यक्षतामा पालुङ जेसिज सभाहलमा भएको कार्यक्रममा थाहानगर अपाङ्ग सरोकार समितिका अध्यक्ष मनलाल गोपाली, फरकसोचका संयोजक यादव रायमाझी, थाहानगर कृषि शाखाका बालकुमारी भट्टराई, नेपाल महिला संघ नगर सभापति ईश्वरी सिं ठकुरी, महिला सहकारीकर्मी सुमित्रा विडारी, पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की, गिता कार्की, थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यमी सभापति आरती श्रेष्ठलगायतकाले बोलेका थिए । कार्यक्रमको उद्देश्यका बारेमा आयोजक लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रिता प्रधानले बताएकी थिइन् भने आयोजक चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा मूल समारोह संयोजक शकुन्तला गोपालीले संचालन गरेकी थिइन् । थाहा नगरभित्र रहेका संघसंस्थामा आवद्ध महिला, वित्तिय तथा बैंकमा कार्यरत महिला कर्मचारीहरु, महिला जनप्रतिनिधिहरु, थाहा नगरपालिकामा कार्यरत महिला शाखा प्रमुखहरु, नगरभित्र रहेका सहकारीमा आवद्ध महिलाहरुको उपस्थित रहेको थियो ।

पालिका प्रेस
थप जानकारी