मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासको सुन्दरीदेवी माविमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ८६ महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा थाहा नगरपालिकाको सहयोगमा गैर सरकारी संस्था वीङ युथले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुले स्वास्थ्य परीक्षण गराएका हुन् ।

शिविरमा थाहा नगरपालिका वडा नंम्बर ७, ८ र कैलाश गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । शिविरमा २४ फागुनमा ७८ जना महिलाहरुको भिडियो एक्सरे, २५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) र २ जना पाठेघर खसेको महिलामा रिङ पेसरी राखी उपचार गरिएको संस्थाका वीङ युथका कोषाध्यक्ष डाक्टर गगन कार्कीले जानकारी दिए । दुईदिनसम्म सञ्चालन भएको शिविरमा २५ फागुनमा २ सय जना महिलाको भिडियो एक्सरे सहितको उपचार, ३० देखि ५० वर्ष उमेरका ३७ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) गरिएको थियो । शिविरमा ५० वर्ष उमेरभन्दा माथिका ४० प्रतिशत महिलाहरुको उपचार गरिएको थियो । शिविरमा विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । सो शिविरमा आएका विरामीहरुमध्ये दुई जनाको पाठेघरको शल्यक्रियाका लागि काठमाडौं मोडल अस्पताल पठाइएको र उनीहरुको निःशुल्क उपचार गरिने डाक्टर कार्कीले बताए ।

आर्थिक रुपमा विपन्न वर्गका महिलाहरुका लागि शिविरले प्रत्यक्ष लाभ दिएकोप्रति थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले खुशी व्यक्त गरे । उपप्रमुख गोपालीले थाहानगरको प्रत्येक वडामा यसकिसिमको शिविर सञ्चालन गर्न आफू सकारात्मक भएको बताए । उनले यस किसिमको शिविर सञ्चालनका लागि नगरपालिका जहिल्यै सहकार्य गर्न तयार रहेको बताए । शिविरको थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरजकुमार भुजेल र थाहा नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष शिवराज थिङलगायतले अनुगमन समेत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी