गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पेन्सनको व्यवस्था गर्ने भएको छ ।

६० वर्ष उमेर पुगेर अवकास पाउने स्वास्थ्य स्वयंसेविकालाई मासिक १००० रुपैयाँ दिने तयारी भएको गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिए । भर्खरै निर्णय भएकाले यसको कार्यविधि बनाउनै बाँकी रहेको उपाध्यक्ष ज्ञवालीले बताइन् ।

‘यो कार्यक्रम हामीले हिजो मात्रै घोषणा गरेका हौँ तत्काल प्रक्रिया अघि बढाएर यो महिनाबाटै कार्यन्वयनमा जाने प्रयास गर्छौँ,’ ज्ञवालीले भनिन् । गाउँपालिकाले ६० वर्ष पुगेर अवकास लिने स्वयंसेविकालाई गाउँपालिकाले ३० हजार थप रकम दिने निर्णय यसअघिनै गरिसकेको छ ।

यसरी अवकास पाउने स्वास्थ्य स्वयंसेविकालाई विदा गर्दा संघीय सरकारले एकमुष्ठ २० हजार दिने गर्छ । छत्रकोट गाउँपालिकाले भने ३० हजार थप गरी ५० हजार बनाएर दिने गरेको उपाध्यक्ष ज्ञवालीले बताइन् । उनका अनुसार यो कार्यक्रम भने लागू भइसकेको छ ।

यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत परेको र यसका लागि बजेट समेत छुट्याइएको छ । पाँच वर्षभन्दा बढी सेवा गरेर विभिन्न कारणले छाड्ने स्वास्थ्य स्वयंसेविकालाई पनि विदा गर्दा कम्तिमा १० हजार दिने निर्णय भएको ज्ञवालीले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी