फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा लक्ष्मीश्वरी मन्दिरमा २९ फागुनमा जलधारा पूजा लगाइएको छ । लामो समयसम्मको खडेरी टार्न मन्दिर परिसरमा ब्राम्हणद्वारा होमसहित जलधारा पूजा लगाइएको हो । पाथीभरामा जलधारा पुजा लगाएपछि वर्षा हुने विश्वास छ ।

जलधारा पुजाकै अवसरमा मन्दिर प्रांगणमा राखिएको ६० किलो बराबरको त्रिशुल र ९० किलो बराबरको घण्टको प्राण प्रतिष्ठासहित पूजा गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्कीले बताए । पूजामा मन्दिरका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको अध्यक्ष कार्कीले बताए ।

पाथीभरामा प्रत्येक वर्ष दीपावलीको अवसरमा लक्ष्मीपूजाको दिन, साउने सोमबार तथा अन्य बेलामा समेत नियमित पूजाआजा हुँदै आएको छ । स्थानीयहरुले पाथीभरा महादेव र पालुङका नेवार समुदायले यस मन्दिरलाई लक्ष्मीश्वरी महादेवका रुपमा पुज्ने गर्दछन् । उनीहरु प्रत्येक वर्ष घरमा दीपावली गर्दा पहिले यहि मन्दिरमा गरिएको दीप प्रज्वलन ननिभाई घरघरमा प्रवेश गराएपछि मात्र दीपावली गर्ने ऐतिहाासिक चलन छ ।

पाथीभरा क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नका लागि मन्दिर संरक्षण समितिले विस्तृत परियोजना प्रस्ताव तयार गरी एकीकृत रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी