मकवानपुरको कैलाश गाउँपालिकामा भएको अन्तर वडा पालिकास्तरीय अध्यक्षकप रनिङशिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि १० नम्बर वडाले जिेतेको छ । कैलाश ९ स्थित नामटारमा भएको फाइनल खेलमा ३० फागुनमा ५ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १० ले उपाधि जितेको हो । उपाधि विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको रनिङ शिल्डसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले भने ४० हजार रुपैंया नगद पुरस्कार पाएको छ ।

वडा नम्बर १० लाई उपाधि जिताउन सुमन स्याङ्तनले व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । वडा नम्बर ५ का लागि हिरा सिंतानले एक गोल गरेका थिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का सुर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर १० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर ५ का अम्बरसिंह पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर १० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर १० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर ३ का सुविन थिङ उदयमान खेलाडी, वडा नम्बर १० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर ५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भएका छन् । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको प्रतियोगिताका सहसंयोजक रविन्द्र थिङले जानकारी दिए ।

कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन समारोह भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपप्रमुख बालकुमार मल्ल ठकुरी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी