मकवानपुर थाहानगरमा रहेको पालुङ बहुमुखी क्याम्पसले क्याम्पसको स्रोत मावि र सहकारीका अध्यक्षहरुबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । क्याम्पसमा ४ चैतमा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख राजन मिश्रले पालुङ बहुमुखी क्याम्पसको विगत, वर्तमान र भावि कार्यदिशा सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि कार्यक्रममा उपस्थित स्थानीय सहकारीका अध्यक्षहरु तथा सहभागीहरुले राय तथा सुझाव दिएका थिए ।

पालुङ क्याम्पस क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु बहादुर विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रियामा अध्यक्ष विष्ट, उपाध्यक्ष सुरेन्द्रमान प्रधान र कोषाध्यक्ष विमल कुमार ढकालले कार्यक्रमको औचित्य र महत्वको बारेमा प्रष्ट्याएका थिए । पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष उमेश ढकालले कार्यपत्रले २०६० साल भन्दा अगाडिको ईतिहास नसमेटेको गुनासो गर्दै मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित कार्यक्रम मार्फत तत्कालीन दामन पालुङमा उच्च शिक्षा प्रतिको चाहना शुरु भएको र उक्त समयमा शिक्षाप्रति माया र पसिना बगाउने व्यक्तित्वहरुको स्मरण गराए । नारायणी यातायात व्यावसायी संघको महासचिव तथा क्याम्पस सञ्चालक समितिका सदस्य सरोज कुमार खनालले पहिला जनकल्याण माविबाटै यस क्याम्पसको शुरुवात भएको बताउँदै मुख्य स्रोत मावि भएको बताए । खनालले जनकल्याण माविले क्याम्पसको विद्यार्थी सख्या बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । जनकल्याण व्यवस्थापन समिति अध्यक्ष राजिब कुमार स्याङ्तानले विद्यार्थी भर्ना बढाउनका लागि प्रत्येक स्रोत माविमा विविध कार्यक्रम गर्दै क्याम्पसले आफ्ना शैक्षिक गतिविधिको प्रचार प्रसार गर्नुपर्ने सुझाव दिए ।

सहयोगी बचत तथा ऋण सहकारी सस्थाका धर्म प्रधानले क्याम्पसको स्तरोन्नतीका निमित्त सहकारी मार्फत सामाजिक उत्तरदायित्व स्वरुप जे जति सहयोग गर्न पर्छ हिजोका दिनमा पनि गर्दै आईरहेको र आगामि दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज रायमाझिले विद्यार्थी संख्या विद्यालय स्तरबाटै बढाउन सके क्याम्पस पढ्ने विद्यार्थी सख्या पनि बढ्ने बताए । अन्तरक्रियामा पाथिभरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष गोकर्ण बरुवाल, कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री र कालिदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नेमराज थिङले भौगौलिक विकटताले विहान क्याम्पस आउन यातायतको साधनको असुविधा भएको कारण विद्यार्थी बाध्य भएर काठमाडौ र हेटौडा जान परेकोले बताए ।

यसैबीच कार्यक्रमकै अवसर पारेर क्याम्पसको विधान बमोजिमको सहकारी संस्थाका अध्यक्षहरु मध्येबाट पालुङ बहुउदेश्यिय सहकारी सस्थाका अध्यक्ष उमेश ढकाललाई क्याम्पस सञ्चालक समितिका पदेन सदस्य र स्रोत माविका अध्यक्षहरु मध्येबाट जनकल्याण नमुना माविका अध्यक्ष राजिव कुमार स्याङ्तानलाई क्याम्पस सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको छ ।

पालिका प्रेस
थप जानकारी