नरेन्द्र प्रसाद सिंह अर्थात ‘सिंह सर’ मकवानपुरको उत्तरी भेगका लागि नौलो नाम होइन । उनी पेशाले शिक्षक हुन तर कुनै सेलिब्रेटी भन्दा कम्ती छैनन् । भनौ, उनी शैक्षिक ‘सेलिब्रेटी’ नै हुन् । मकवानपुरको थाहानगर र छिमेकी पालिकाहरुमा समेत उनी ‘सिंह सर’ कै नामले चिनिन्छन् । यहाँका हजुबुबा पुस्तादेखि नातीसम्म ‘सिंह सर’ मुखैमा झुण्डिने नाम हो । ‘स्वभिमानले जागिर खानुपर्छ, घुसपैठले होइन’ भन्ने विचार बोकेका नरेन्द्रप्रसाद सिंह कहिल्यै सरकारी स्थायी भएनन् । गौर नगरपािलका वडा नम्बर १३ सिर्सिया रौतहटमा जन्मनु भएका सिंहले आफ्नो शिक्षण कालमा चार पटक आयोगको परिक्षा दिए । उनले आयोगको चारवटै लिखित परीक्षा पास गरे । बिडम्बना, चारवटै अन्तरवार्तामा अनुतीर्ण भए । उनमा आयोगको परीक्षामा लिखित पास गरेर गलहत्याइएको लामो अनुभव छ ।

जनकल्याण एल्मुनाइ एशोसिएशनको तर्फबाट सम्मान ग्रहण गर्दै ‘सिंह सर’ । फोटोः पालिका प्रेस

 ‘सिंह सर’ थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविमा ३८ वर्षदेखि अध्यापन पश्चात् ५ चैतमा अवकास पाए । यो ३८ वर्षे शिक्षक निजीस्रोतमै अध्यापन गरेर बिताए । वि.सं. २०४२ साल वैशाख ५ गते निजीस्रोत शिक्षकको कोटामै उनी जनकल्याण आएका थिए । उनले जनकल्याण माविमा ९ र १० कक्षालाई कृषि शिक्षा पढाउनको लागि नियुक्ती पाएका थिए । विद्यालयमा कृषि शिक्षा हटाएपछि अरु विषय अध्ययापन गराउन थाले । सिँहले अनिवार्य नेपाली विषय बाहेक सबै विषय अध्यापन गराउन सक्ने क्षमता राख्छन् । र, अध्यापन पनि गराउँदै आएका थिए । उनको अनुभवमा नेपालमा लिखित परीक्षामा होइन अन्तरवार्तामा पक्षपात छ । ‘त्यसैले नेपालमा क्षमताले जागिर खान गाह्रो छ,’ सिँहले भने । आयोगको परीक्षा दिनको लागि संगै तयारी गरी उतीर्ण भएका ३० प्रतिशतलाई त उनी पढाउन सक्ने समेत क्षमता प्रदर्शन गर्छन ।

थाहा नगरपालिका वडा नम्बर ३ को सम्मान ग्रहण गर्दै ‘सिंह सर’ । फोटोः पालिका प्रेस

उनले आफ्नो क्षमताकै कारण तराइबासी भएपनि पहाडी इलाकामा शिक्षण सिकाइ गराउनको लागि ख्याती कमाएको बताए । आफ्नो शिक्षण सीप र अभिभावक तथा बालबालिकासंगको सामिप्यताको कारण ३८ वर्षसम्म गाउँमा टिकेर अध्यापन गर्न सफल भएको उनको अनुभव छ । आफू चार पटकसम्म शिक्षा सेवा आयोगको परीक्षामा अनुतीर्ण भएको भए पनि अभिभावक र बालबालिकाले लिएको परीक्षामा सँधै उतीर्ण भएको सिँहले सुनाए । सरकारले नचिनेको अभिभावकले चिनेको शिक्षकको रुपमा आफूलाई उभ्याउँछन् । उनको लगनशील, विद्यार्थीमा आएको शैक्षिक गुणस्तर सबैको मूल्याङ्कनले सिँहलाई २०५२ सालबाट अभिभावकले स्थायी गरे । अर्थात् निमावि तहका सरकारी शिक्षकले पाउने सरह निजीस्रोतबाट अभिभावकले नै तलब दिलाए । संचयकोष पनि उस्तै अनुपातमा जम्मा जम्मा गराइदिए । सरकारको भन्दा धेरै सुविधा अभिभावकबाट पाएको उनले महशुस गरे । सिंहले भने–‘मेरो सरकार भनेकै मेरा चेलाहरुको अभिभावक हुन् ।’ अभिभावकबाट पाएको शैक्षिक प्रेममात्र होइन संस्थागत सम्मान पनि थुप्रै छन् ।

आफ्ना चेलाहरु तथा अभिभावक समक्ष विदाई कार्यक्रममा मन्तव्य राख्नूहुँदै ‘सिंह सर’। फोटोः पालिका प्रेस

फरक सोचको तर्फबाट तिर्थदास श्रेष्ठ सामाजिक सम्मान, उद्योग वाणिज्य संघ, विद्यालय व्यवस्थापन समिति लगायतका दर्जनौ निकायबाट सिँह सम्मानित भइसकेका छन् । जिल्लाको उत्कृष्ट शिक्षण सिकाइ गर्ने शिक्षकको लिष्टमा समेत परेका सिँहलाई गाउँका बालबालिकादेखि केश पाकेकाले समेत ‘सिंह सर’ भन्छन् । ३८ वर्षे अध्यापन अवधिमा उनका चेला चार्टर एकाउन्टेन्ट, सरकारी अफिसर, इन्जिनियरदेखि सिनिय हेल्थ असिस्टेन्ट, पत्रकारसम्म भएकाछन् । पढाएका मध्ये धेरै शिक्षक भएकाछन् । त्यसमा पनि दर्जनबढि प्रधानाध्यापक भएको औलामै गन्दै संवाददातालाई सुझाए । अहिलेसम्म कुनै राजनीतिक पाटीको सदस्यता नलिएका उनी सही गलत सरकारले कहिल्यै छुट्याउन नसक्ने तर जनताले त्यसको सहजै मूल्याङ्कन गर्न सक्ने अनुभव सुनाउँछन् । ड्युटिदेखि कहिल्यै नडराउने तर चाकडिमा नलाग्ने सिंह हाकाहाकी बताउँछन् ।

विदाइ कार्यक्रममा सम्मान ग्रहण पश्चात् भावुक ‘सिंह सर’ । फोटोः पालिका प्रेस

बालबालिकालाई बोर्डमा लेखेको भरमा सिक्न नसक्ने उनले बताए । कक्षामा पढाउँदा बालबालिकालाई उत्सुकता जगाउन नसके उनीहरुले सजिलै सिक्न नसक्ने उनको भनाइ छ । सिँह बालबालिकाले बुँझे भनेको भरमा कहिल्यै कक्षा छोड्दैन थिए । बालबालिकाले बुझे नबुझेको अनुहारबाटै थाहा पाउने उनी बताउँछन् । आफ्नो बुबा पनि शिक्षक नै भएकोले उहाँबाट प्रभावित भएर शिक्षणमा लागेका सिँहले सरकारी नियुक्त लिन नसकेको दुखद् अनुभव सुनाउँछन् । तर पहिले रहरले शिक्षण पेशामा प्रवेश गरेका नरेन्द्रप्रसाद पछिल्लो समय अभिभावकको करले शिक्षण पेशालाई निरन्तरता दिइरहेका थिए । अर्थात् उनको शिक्षण सीपको माग केश पाकेका हजुरबुबादेखि नातीसम्म थियो । अनि, अभिभावकलाई जहाँ गएपनि धन्यवाद दिइरहन्छन् । भन्छन्–‘सरकारले स्थायीलाई के सम्मान ग¥यो, त्यो भन्दा बढि दामनपालुङबासीले मलाई गरेकाछन् ।’ ‘सिंह सर’लाई उनका चेलाहरुले १८ चैतमा एक कार्यक्रमको आयोजना गरी विदाइ गरेका छन् ।

र, यो पनि पढ्नुहोस्

३८ वर्ष अध्यापन गराएका शिक्षक सिंह चेलाहरुको विदाइमा ‘भावूक’

पालिका प्रेस
थप जानकारी