धादिङको बेनिघाट रोराङ गाउँपालिकामा दुईवटा खानेपानी योजना बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण भएको छ । पालिकाको वडा नम्बर ६ मा रहेको ढापखोला खानेपानी योजना र वडा नम्बर १० मा रहेको माथिल्लो जबाङ खानेपानी योजना खानेपानी बोर्डलाई हस्तान्तरण भएको हो ।

फोटो सौजन्यः बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्ड ।

ढापखोलाको ४३ घर र माथिल्लो जवाङको ५१ घरलाई खानेपानी वितरण भइरहेको आयोजना बोर्डलाई हस्तान्तरण भएको कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दिइन् । बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्ड स्थापना भई कार्य प्रारम्भ भएपछि योजनाहरु क्रमशः बोर्डमा हस्तान्तरण हुन थालेका छन् । बेनिघाट रोराङ गाउँपालिकासगँको सहकार्य र संघ तथा प्रदेश सरकार र विभिन्न संघसस्थाहरुसँघ सहकार्य गर्दै दिगो विकास लक्ष्यको उद्देश्य अनुरुप आफ्ना क्रियाकलापहरु सञ्चालन गरिने गाउँपालिका अध्यक्ष तथा बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले जानकारी दिए । गाउँपालिका भित्रका सबै घरधुरीहरुमा सुरक्षित खानेपानी सेवा उपलब्ध गराउन खानेपानी ब्यबस्थापन बोर्ड प्रतिबद्ध रहेको अध्यक्ष थपलियाले बताए ।

फोटो सौजन्यः बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्ड ।

ढापखोला खानेपानी योजना हस्तान्तरण कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष टेकनाथ सिलवाल, वडा सदस्य बिन्दा मग्राती, अक्सफामका प्राविधिक संयोजक विजय थापा, फोकस नेपाल धादिङको ईन्जिनियर बिबेक चापागाईंलगायत प्राविधिकहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खानेपानी बोर्डका कार्यकारी निर्देशक उप्रेतीले हस्तान्तरण भई आएको योजनाहरुलाई खानेपानी बोर्डको ऐन नियम बमोजिम संचालन गरिने बताइन् । पालिका क्षेत्रको खानेपानी सेवालार्ई एकद्वार, सर्वसुलभ र गुणस्तरी बनाउन बोर्ड प्रतिवद्ध रहने कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ ।

फोटो सौजन्यः बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्ड ।

गाउँपालिका क्षेत्रमा खानेपानी तथा सरसफाइ सेवालाई व्यवस्थित, नियमित तथा गुणस्तरयुक्त बनाई गाउँपालिकाको भौगोलिक क्षेत्र भित्रका खानेपानी आयोजनाहरुलाई दिगो र व्यवस्थित ढंगबाट संचालन गराउन बोर्ड गठन भएको हो । पालिका क्षेत्रका उपभोक्ताहरुलाई सफा, स्वस्च्छ र सुरक्षित पानी पिउन पाउने संविधान प्रद्धत मौलिक हकको समेत प्रत्याभुती गराउने उद्देश्यले स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ (१) बमोजिम बेनिघाट रोराङ गाउँपालिकामा बेनिघाट रोराङ ग्रामिण खानेपानी ब्यबस्थापन बोर्ड स्थापना भएको हो ।

पालिका प्रेस
थप जानकारी