मकवानपुर थाहा नगरबासीलाई सीप सिकाई आत्मनिर्भर गराउने उद्देश्यले कृस्टल गहना तथा चुरा बनाउने एडभान्स तालिम दिइएको छ । सोही अवसरमा अपाङ्गता भएकाहरुलाई दिइएको अचार बनाउने सात दिने तालिको पनि समापन गरिएको छ । तालिमको एक समारोहकाबीच ३० चैतमा थाहानगरका प्रमुख विष्णु बहादुर विष्टले समापन गरेका हुन् ।

महिलाहरुलाई आत्म निर्भरताको लागि दुवै कार्यक्रम प्रभावकारी भएको नगर प्रमुख विष्टले विश्वास व्यक्त गरे । सहभागीहरुलाई प्रमुणपत्र वितरण गर्दै प्रमुख अतिथी विष्टले यस्तो विश्वास व्यक्त गरेका हुन् । विष्टले भने–‘उद्दमशिलता र सिप विकास तालिम प्रदान गरी बेरोजार नागरिकहरुलाई आत्म निर्भर हुन बजेटको व्यवस्था गरिनेछ ।’ उत्पादनलाई बजार व्यवस्थाको लागि पनि नगरपालिकाले आवश्यक समन्वय गर्ने नगर प्रमुख विष्टको भनाइ थियो । उनले महिला र अपाङ्गा भएकाहरुलाई आत्मनिर्भर गराउने सवालमा नगरपालिका कहिल्यै पछि नपर्ने विष्टले बताए । कार्यक्रममा थाहा नगरपालिका ३ नम्बर वडाध्यक्ष हिरेन्द्र रायमाझीले सीप विकास संगै पारिवारिक जीवनमा सुधार आउने अपेक्षा राखे । परिवारको आर्थिकस्तर उकास्न सके दैनिकी फेरिने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सकिने उल्लेख गरे ।

कार्यक्रमका अतिथीहरु प्रमाणपत्र लिएर सिरानीमा राख्ने खालको नभई तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । सहभागीहरुलाई व्यवसायिक बन्न सुझाव दिए । सहभागीहरुले आफुले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न नगरपालिका र वडाले सहयोग गरे उत्साहित हुने आश व्यक्त गरेका थिए । अचार बनाउने तालिममा १२ वडाका १५ जना फरक क्षमता भएकाहरुको सहभागिता रहेको थियो भने कृस्टलको गहना बनाउने तालिममा विद्यालय छाडेका किशोरीहरुको सहभागिता रहेको थियो।

थाहा नगरपालिका महिला बालवालिका तथा अपाङ्गता परिचयपत्र वितरण शाखाको सहयोगमा कृस्टलको गहना बनाउने एडभान्स तालिम तथा अपांग सरोकार समिति थाहा नगरको समन्वयमा ७ दिने अचार बनाउने तालीम सञ्चालन गरिएको थियो। तालिमका मुख्य प्रशिक्षक कमला सुवेदीले सिप सिकेर मात्र व्यक्ति उद्दमी बन्न नसक्ने बताउदै उद्यमी बन्नका लागी उद्यमशिलता तालिमको आबश्यकता रहने बताइन् । उनले एक घर, एक उद्यमी उत्पादन गर्न सके आर्थिक सम्ृद्धिको आधार तयार हुने बताइन् । अचार बनाउने तालिमका सहभागीहरुलाई निलम रिजाल र रुपा कुमारी श्रेष्ठले सहजीकरण गरेकी थिइन् भने गहना बनाउने तालिम सिप विकास केन्द्र काठमाडौ तथा श्रीजनशील कृस्टल हस्तकला उद्योगकी संचालक कमला सुवेदीले सहजीकरण गरेकी थिइन् ।

सामाजिक विकास समिति थाहा नगरपालिकाकी सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विशिष्ट अतिथी उपप्रमुख भरत गोपाली रहेका थिए । कार्यक्रममा वडाध्यक्षहर हिरेन्द्र रायमाझी, नारायण लामा, वडा सदस्य कृष्ण कुमार कार्की, सविता सुनार, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, सुचना शाखा प्रमुख सुरज कुमार भुजेल, महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, अपांग सरोकार समिति थाहानगरका अध्यक्ष मनलाल गोपाली, कोशेली घर संचालक समिती अध्यक्ष राजकुमार पन्त लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा तालिमका सहभागीहरुले कृस्टलका गहना तथा अचारलाई प्रदर्शन समेत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी