बागमती प्रदेशका विभिन्न जिल्लामा खेतीयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडाले प्रदेशका १३ जिल्लाका ११९ वडामा गरेको माटो परीक्षणका क्रममा माटोमा अम्लीयपनको समस्या बढ्दै गएको पाइएको हो।

प्रयोगशालाका अनुसार २०७६।७७ देखि २०८२।८३ सम्म २० हजार २१२ वटा माटोका नमुना परीक्षण गरिएकामा ८३ प्रतिशत नमुनामा अम्लीयपन देखिएको छ। परीक्षण गरिएका नमुनामध्ये ठूलो हिस्सामा अम्लीयपन देखिएपछि खेतीयोग्य जमिनको उत्पादन क्षमता र माटोको गुणस्तर सुधारमा चुनौती थपिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका कार्यालय प्रमुख तथा वरिष्ठ माटोविज्ञ डा. जनार्दन खड्काले माटोमा अम्लीयपनको समस्या घट्नुको सट्टा बढ्दै गएको बताए। माटो सुधारका लागि भइरहेका प्रयास पर्याप्त नभएको भन्दै उनले अभियानकै रूपमा माटो सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ। सिन्धुपाल्चोक, दोलखा र रसुवालगायतका जिल्लामा भने तुलनात्मक रूपमा अम्लीयपनको समस्या कम देखिएको छ।

माटोमा अम्लीयपन बढ्नुमा वर्षाको पानी, माटो बनेको मूल चट्टान तथा मानवबाट हुने माटो व्यवस्थापन मुख्य कारण रहेको डा। खड्काको भनाइ छ । माटोको अम्लीयपन मापन गर्न पीएच परीक्षण गरिने र आवश्यकताअनुसार कृषि चुनको प्रयोग, प्राङ्गारिक पदार्थको मात्रा बढाउने तथा जैविक र सूक्ष्मजीवमा आधारित मलको प्रयोग गर्नुपर्ने उनले बताए ।

२०८२।८३ मा प्रयोगशालाले एक हजार ५० वटा माटोका नमुना परीक्षण गर्ने लक्ष्य राखेकोमा तीन हजार ४१३ वटा नमुना परीक्षण गरेको छ। लक्ष्यको तुलनामा करिब तीन गुणा बढी नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ।

माटो परीक्षणलाई किसानको खेतबारीसम्म पुर्‍याउने उद्देश्यले प्रयोगशालाले विभिन्न जिल्लामा घुम्ती माटो परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको छ। मकवानपुरको इन्द्रसरोवर र धादिङको गजुरीमा माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो। विश्व माटो दिवसका अवसरमा इन्द्रसरोवर गाउँपालिकामा ३११ वटा माटोका नमुना परीक्षण गरी माटोको अवस्थाका आधारमा १८ मेट्रिक टन कृषि चुन निःशुल्क वितरण गरिएको प्रयोगशालाले जनाएको छ।

माटोमा अम्लीयपनको समस्या देखिएका क्षेत्रमा कृषि चुनको प्रयोगसँगै प्राङ्गारिक पदार्थको मात्रा बढाउन पनि किसानलाई सुझाव दिइएको छ। गोठेमल तथा अन्य प्राङ्गारिक पदार्थको उचित व्यवस्थापन, जैविक मल र सूक्ष्मजीवमा आधारित मलको प्रयोगबाट माटोको गुणस्तर सुधार गर्न सकिने प्रयोगशालाले जनाएको छ।

प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत कृषि प्राविधिकलाई माटो परीक्षण तथा माटो सुधारसम्बन्धी जानकारी दिन तालिमसमेत सञ्चालन गरिएको छ। गत आर्थिक वर्षमा १२ जिल्लाका ४७ स्थानीय तहका ६० जना कृषि प्राविधिकलाई दुई चरणमा तालिम दिइएको थियो।

हेटौँडा उपमहानगरपालिका–१७ र १९ मा किसानलाई जैविक तथा सूक्ष्मजीवमा आधारित मल प्रयोगसम्बन्धी जानकारी दिइएको थियो। ती वडाका १९७ जना किसानलाई नाइट्रोजन, फस्फोरस तथा डिकम्पोजर ब्याक्टेरियालगायतका जैविक मलसम्बन्धी जानकारी तथा सामग्री उपलब्ध गराइएको प्रयोगशालाले जनाएको छ।

कृषि चुन प्रयोगको प्रभावकारिताबारे अध्ययन गरेपछि हेटौँडा उपमहानगरपालिका–१८ का २३८ घरधुरीका किसानलाई ४० मेट्रिक टन कृषि चुन उपलब्ध गराइएको थियो। माटोको अवस्थाका आधारमा चुनको प्रयोग गर्दा अम्लीयपन घटाउन सहयोग पुग्ने प्रयोगशालाको भनाइ छ।

माटोको अवस्थाबारे थप जानकारी प्राप्त गर्न संघीय ससर्त अनुदानअन्तर्गत डिजिटल माटो नक्सा तयार गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुलीबाट ६६४ वटा माटोका नमुना सङ्कलन गरी परीक्षण गरिएको छ।

प्रयोगशालाले माटोमा रहेको पीएच, नाइट्रोजन, फस्फोरस, पोटास, जिंक, कपर, म्याङ्गानिज, मोलिब्डेनम, माटोको बनावट तथा रासायनिक र प्राङ्गारिक मलको अवस्थालगायतका विषय परीक्षण गर्दै आएको छ। सरकारी कार्यालय तथा सरकारी स्वामित्वका संस्थाबाट आउने नमुना र किसानले स्वयं परीक्षणका लागि ल्याउने नमुनामा परीक्षण शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै, अनुसन्धानका लागि विश्वविद्यालय वा विद्यार्थीले सम्बन्धित निकायको सिफारिससहित ल्याएका नमुनामा ५० प्रतिशत छुट दिइने प्रयोगशालाले जनाएको छ।

प्रदेशका १३ जिल्लाका ११९ वडामा माटो परीक्षण तथा माटो सुधारका कार्यक्रम सञ्चालन गर्न जनशक्ति सीमित रहेकाले स्थानीय तहका कृषि प्राविधिकलाई समेत परिचालन गरेर माटो परीक्षण र सुधारसम्बन्धी काम विस्तार गर्नुपर्ने प्रयोगशालाले जनाएको छ ।

-कान्तिपुरबाट ।

पालिका प्रेस
थप जानकारी