जन्म, मृत्यु, बसाईसराईलगायतका ब्यक्तिगत घटना दर्ता तोकिएको निश्चित समय ३५ दिनभित्रै गराउनुपर्ने कानुनी प्रावधान छ । तर, अधिकांशले समयमै घटना दर्ता गराउने गरेको पाइदैन । जनचेतनाको कमीलगायतका कारण समयमै घटना दर्ता नगराउँदा धेरै कानुनी समस्या भोगेका उदाहरण छन् । घटना दर्ता तोकिएको समयमा नगराउँदा आफ्ना वडाबासीले दुःख पाउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मनहरी गाउँपालिकाको एउटा वडाले उपहार कार्यक्रम नै ल्याएको छ ।

मनहरीको ५ नम्बर वडाले २ दिवशीय घटन दर्ता शिविर गर्दै उपहार कार्यक्रम ल्याएको हो । वडाअध्यक्ष दीपेन्द्र अधिकारीले १ वर्ष मुनि जन्मदर्ता गराउन आउने सेवाग्राहीलाई एक क्रेट अण्डा उपहार प्रदान गरिने कार्यक्रमको सुरुवात गरेका छन् । व्यक्तिगत घटनादर्ता र कार्यालयबाट प्राप्त हुने सेवा सहितको शिविरमा १ सय ४२ जनाले सेवा लिए । शिविरबाट ४५ हजार १ सय ८८ रुपैयाँ राजश्व संकलन भएको वडाअध्यक्ष अधिकारिले जानकारी दिए ।

शिविरबाट मालपोत तथा सम्पत्ती करतर्फ पहिलो दिन ३० जना र दोस्रो दिन १४ गरी ४४ जनाले सेवा लिएका हुन् । विवाह दर्तामा पहिलो दिन ३ र दोस्रो दिन ४ जोडी गरी ७ जोडीले सेवा लिए । जन्मदर्तामा ६२ जना, नागरिकता सिफारिस र प्रतिलिपिमा १६ जनाले सेवा लिएको अधिकारीले बताए ।

पालिका प्रेस
थप जानकारी