विश्वविद्यालयको डिजाइन चित्र

मकवानपुर थाहानगर चित्लाङको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ । यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ।

प्रस्तावित आयोजना कार्यान्वयनले आयोजना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रूपमा पार्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन गरी प्रतिवेदन तयार गरिएको हो। अध्ययन प्रतिवेदनले आयोजनाका सम्भावित प्रतिकूल प्रभाव न्यूनीकरण र व्यवस्थापनका उपायहरू सुझाएको छ ।

विश्वविद्यालयका कन्सल्टेन्ट सञ्जयनाथ खनालले इआइए अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिए । चार हजार विद्यार्थीले अध्ययन गर्ने गरी प्रस्ताव गरिएको यो विश्वविद्यालयका लागि सुरुको १० वर्षसम्म वन फँडानी नगर्ने गरी योजना बनाइएको छ । आयोजना स्थलमा रहेको अर्गानिक फार्ममा रहेका केही नास्पातीका बोट भने काटिने भएको छ। विश्वविद्यालयले २५५ वटा रुख र तीन हजार नीलकाँडा रोपेको प्रतिवेदनमा उल्लेख छ । कुनै पनि आयोजना निर्माण गर्दा पाँच हेक्टरभन्दा बढी वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्दा इआइए गर्नुपर्ने व्यवस्था अनुसार नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालिले इआइए गरी गत जेठ अन्तिम साता प्रतिवेदन तयार गरेको थियो।

वन क्षेत्रभित्र २५ कोठाभन्दा बढीको शैक्षिक संस्था निर्माण गर्दा र १० हजार वर्गमिटर क्षेत्रफलमा संरचना गर्दा इआइए गर्नुपर्ने व्यवस्था रहेकोमा प्रस्तावित आयोजनामा दुई सयभन्दा बढी कोठा प्रस्ताव गरिएको र आयोजनाको संरचना निर्माण क्षेत्रफल दुई लाख २३ हजार वर्गमिटर रहेको छ। स्वच्छन्द भैरव माविको नाममा रहेको १७९–१२–२–० रोपनी जग्गा २०७४ असोज २७ को मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान पूर्वाधार विकास समितिको नाममा भोगाधिकार दिएकोमा उक्त समिति खारेजीमा गएपछि विश्वविद्यालयलाई भोगाधिकार दिने २०७६ असार ५ मा मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो।

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ७६ करोड रुपियाँ बजेट विनियोजन गरी विश्वविद्यालय आयोजना कार्यान्वयनमा ल्याउन सुरु गरेको थियो। सो विश्वविद्यालयको केन्द्रीय कार्यालय हाल ललितपुरमा रहेकोमा आगामी भदौ १ देखि चित्लाङबाट कार्यालय सञ्चालन गर्ने तयारी गरिरहेको कन्सल्टेन्ट खनालले बताए । चित्लाङमा विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण सन् २०१९ देखि सुरु गरिएको हो।

ज्ञान, प्रविधि, सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधिको विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्रको विकासमा प्रत्यक्ष सहयोग पु¥याउन भन्दै सरकारले २०१९ अप्रिल २३ मा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो।

-गोरखापत्रबाट

पालिका प्रेस
थप जानकारी