उदयपुरको रौतामाई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाद्वारा १ सय ४० जनालाई न्याना कपडा सिरक वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप रौतामाईले सिरक वितरण सुरु गरेको हो । लैंगिक समानता तथा महिला सशक्तीकरण क्षेत्रअन्र्तगत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो ।

‘७ वर्षअघि किनेको सिरक च्यातिएर पूरै फाटिसकेको छ । जाडो धान्न नसकेपछि धेरै दिन अँगेनाको डिलमा आगो तापेर सुतेँ’, रौतामाई गाउँपालिका वडा नम्बर ४ का शारीरिक रूपले अशक्त ७५ वर्षीय गुणबहादुर मगरले भने, गाउँपालिकाले सिरक दिएपछि अब भने ढुक्कसँग सुत्न पाइने भो ।’ उनीजस्तै अन्य ज्येष्ठ नागरिकले पनि पालिकाले सिरक बाँडेकामा खुसी व्यक्त गरे । सिरक वितरण गर्ने खबर सुनेपछि वडा नम्बर ८ मा पुगेका रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष छत्रबहादुर मगरले भने, ‘जाडोका बेला ज्येष्ठ नागरिक बचाउन गाह्रो छ । घरमा परिवारसँग मिलेर बसेकालाई त ठीकै छ । परिवारबाट अपहेलित भएकाको जनजीवन कष्टकर छ । कतिपय ज्येष्ठ नागरिक राती सुत्दा ओढ्ने कपडा नभएपछि घरभित्र आगो बालेर रात काट्न बाध्य छन् । यस्तो बेला गाउँपालिकाले न्यानो सिरक दिएपछि राहत हुनेछ ।’

गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा ज्येष्ठ नागरिकको अवस्था हेरेर सहयोग गरिएको बताइन् । उनले भनिन्, ‘गरिब, दलित, विपन्न, असहाय, अपांगता भएका र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सिरक वितरण गरेका हौँ । बाहिर निस्कँदा एकसरो न्यानो कपडा भए पनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा ज्येष्ठ नागरिक कठ्यांग्रिन थालेको र स्वास्थ्यमा समेत असर पुग्ने गरेकाले सिरक बाँडेका हौँ ।’

गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बबिता परियारले सबै वडाका १४० जनालाई सिरक वितरण गरिने बताइन् । उनले भनिन्, ‘जाडोले विपन्न ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । सकेसम्म घर–घरमै पु¥याइदिने लक्ष्यका साथ अभियान सुरु गरेका छाँै ।’

पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा चिसो बढेसँगै ज्येष्ठ नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । ग्रामीण भेगमा चिसो बताससँगै बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि जाडोले ज्येष्ठ नागरिक घरबाहिर निस्कन सकेका छैनन् । ०६८ को जनगणनाअनुसार रौतामाई गाउँपालिकामा १ हजार ९३२ जना अर्थात् रौतामाईको कुल जनसंख्याको ७.६९ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् ।

पालिका प्रेस
थप जानकारी