मकवानपुरको थाहानगर स्थित पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा बढाइ गरी फुलपाती भित्र्याइएको छ । इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाइँसहित फुलपाती भित्र्याइएको हो । लोपोन्मुख अवस्थामा रहेको यो चलनलाई स्थानीय सरकार गठन भइसकेपछि जनप्रतिनीधिहरुको ब्युताएका हुन् ।

आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित सलामी दिएपछि पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो । शुभ साइतको बढाइँको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापाले संयोजन गरेका थिए ।

 परापूर्व कालदेखि देखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि मुलुकमा बहुदल आएपछि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै आएको थियो । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ ।

फुलपाती भित्र्याउने कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, थाहा–२ का वडाका जनप्रतिनीधिहरुलगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको स्थानीय निरोज प्रधानले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी