दोलखाको जिरीमा १५ कात्तिकदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल च्याम्पियनशिप प्रतियोगितामा थाहा नगरपालिका उपविजेतामा सीमित हुन पुगेको छ । जिरीमा भर्खरै सम्पन्न प्रतियोगिताको फाइनलमा थाहानगर भरतपुर महानगरपालिकासँग पराजित भएको छ । यससँगै थाहा नगरपालिका च्याम्पियनशीपको दोस्रो स्थानमा रहन पुगेको हो ।

प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शनका बावजुद थाहा नगरपालिका उपविजेतामै सीमित हुनुपरेको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । थाहानगरपालिकाको खेलको उच्च प्रशंसा गर्दै जिरीमै रहेका थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले थाहानगरपालिका खेलकुदमा पनि अब्बल रहेको बताए । सो क्रममा नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिका भलिवलमा बागमती प्रदेशकै दोस्रो स्थानमा रहनुको ऐतिहासिक महत्व र प्रतिष्ठा रहेको बताए ।

प्रतियोगितामा सहभागी हुन १४ कात्तिकमा १५ जनाको टोली जिरी पुगेको थियो । खेलाडीहरुलाई हौसला प्रदान गर्न नगर प्रमुख विष्ट, उपप्रमुख गोपाली, खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायत जिरी पुगेका थिए । उपविजेताको रु. १,०१,००० नगद पुरस्कार, पदक र प्रमाणपत्र लिएर थाहानगर टोली आजै फर्किने कार्यक्रम रहेको छ ।

पालिका प्रेस
थप जानकारी