जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका छन् । अख्तियारमा उजुरी परेका बन्गाड कुपिण्डे नगरपालिका १ का वडाध्यक्ष शान्तकुमार यरीको विषयलाई लिएर विवाद हुँदा कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका हुन् ।

बहुमत सदस्यद्वारा बैठक बहिस्कार गरेपछि नगरपालिकाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कार्यपालिकाको बैठक बस्न नसक्दा नगरपालिकाको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । जसका कारण विकासका कामलगायत अन्य योजना तथा कार्यक्रम अन्योलमा परेका छन् । सञ्चालित योजनाले पनि तीव्रता पाउन नसक्ने देखिएको छ ।

अख्तियारमा उजुरी परेको र कारबाहीमा परेका वडाध्यक्ष यरीलाई नगरप्रमुख गोविन्दकुमार पुनले बैठकमा बस्न नदिएको र रजिस्टरमा नामसमेत लेख्न नदिएपछि बैठक बहिस्कार गरिएको बन्गाड कुपिण्डे नगरपालिका ४ का वडाध्यक्ष मोमत रोकाले बताए । नगरप्रमुखले अधिकारको दुरुपयोग गर्दै आएकाले त्यसको विरोध गरेको उनले जानकारी दिए । उनले भने‚ ‘नगरपालिका नीति, विधिविपरीत सञ्चालन भइरहेको छ । नगर प्रमुखले सबै कामकाज गर्ने भए हामी बहुमत कार्यपालिका सदस्य किन चाहियो ? सबै एक्लै गरे भयो ? हामी साक्षी बस्न आवश्यक छैन ।’

बन्गाड तथा अम्राखोलामा तटबन्ध निर्माणका क्रममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको र अख्तियारले छानबिन गर्न नगरपालिकामा पत्र पठाएपछि नगरप्रमुख गोविन्दकुमार पुनले केही दिनअघि वडाध्यक्ष यरीलाई सबै अधिबारबाट वञ्चित गर्दै कारबाही गरेका थिए ।

बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख पुनले अधिकारको दुरुपयोग गरी वडाध्यक्ष यरीको सबै अधिकार खोसेर कारबाही गरेकाले र अन्य समयमा पनि सामुहिक निर्णय नगरी एकपक्षीय हस्तक्षेप गर्दै आएकाले त्यसको विरोध गर्दै बैठक बहिस्कार गरेको बन्गाड कुपिण्डे नगरपालिकाकी उपप्रमुख मन्जु यरीले बताइन् । बैठक बहिस्कार गरे पनि कुनै पनि विषयमा छलफल हुन नसकेको उनले जानकारी दिइन् ।

‘अख्तियारले वडाध्यक्षको विषयमा छानबिनका लागि पत्र पठाएको थियो । मेयरले सबै अधिकार आफ्नै हातमा लिई कारबाही गरेका छन्; यो कानुनसम्मत छैन‚’ उनले भनिन्‚ ‘जबसम्म वडाध्यक्ष यरीमाथि भएको कारबाही फिर्ता हुँदैन र गठबन्धन दलले केही दिनअघि निकालेको विज्ञप्तिअनुसारका माग पूरा हुँदैनन्‚ तबसम्म कार्यपालिका बैठक बस्न सक्दैन ।’

गत भदौमा भएको नगरसभापछि पटकपटक कार्यपालिकाको बैठक बस्नका लागि आग्रह गर्दै आए पनि नगरप्रमुखले त्यसलाई लत्याएको र कसैलाई जानकारी नगराई एक्कासि बैठक भनेर बोलाएको तर हलमा प्रवेश गर्ने बेला हिउँदे अधिवेशन भन्ने आफूले थाहा पाएको उपप्रमुख यरीले जानकारी गराइन् । कसैलाई जानकारी नगराई हिउँदे अधिवेशन गर्न खोजेकोमा उनले असन्तुष्टि जनाएकी छिन् । मेयरले गरेको एकपक्षीय हस्तक्षेपका कारण नगरका कामकाज र विकास निर्माण धेरै प्रभावित भएको उनको भनाइ छ ।

बन्गाड कुपिण्डे नगरपालिका १ का वडाध्यक्ष शान्तकुमार यरीले राजनितिक प्रतिशोधका कारण आफूलाई असफल बनाउने उद्देश्यले नगर प्रमुख गोविन्दकुमार पुनका आफन्तले अख्तियारमा उजुरी दिएको बताएका छन् । अम्राखोला र बन्गाड खोलामा तटबन्ध निर्माणमा आफूले कुनै पनि अनियमितता नगरेको उनले जानकारी दिए । उनले आफूले पाएको अधिकार प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।

नगरप्रमुख पुनले अख्तियारले पठाएको पत्रअनुसार नै वडाध्यक्षलाई कारबाही गरेको र त्यहि विषयलाई लिएर कार्यपालिका बैठक बहिस्कार गर्नु गलत भएको बताएका छन् । उनले कार्यपालिका बैठक बहिस्कार गरेर आफूलाई असफल बनाउन खोजेको दाबी गरे । कार्यपालिकाको बैठक बहिस्कार गर्दा हिउँदे अधिवेशनलगायत अन्य विषयमा निर्णय हुन नसक्दा कार्यालयका कामकाजमात्र नभई विकास निर्माणका कार्य प्रभावित भएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी