मकवानपुर थाहा नगरपालिकाको १४ औं नगरसभा भएको छ । २५ पुसमा पालुङ जेसिज सभाहलमा भएको सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको समिक्षा सहित केही आयोजनाहरु संशोधन तथा रकमान्तर गरेको छ । सभाले समिक्षा र रकमान्तरको प्रस्तावहरु बहुमतले पारित गरेको छ ।

पालिकाले १३ औं नगरसभा पश्चात् गरेको कार्यक्रमहरुको समिक्षात्मक वक्तव्य नगर उपप्रमुख भरत गोपालीले सभामा प्रस्तुत गरेका थिए । उपप्रमुख गोपालीले चालु आर्थिक वर्षको हालसम्म २५.८८ प्रतिशत वित्तिय प्रगती हासिल भएको बताए । जसमा चालु खर्च ३५.७९ प्रतिशत र पुँजीगत १३.३ प्रतिशत वित्तिय प्रगती भएको उल्लेख गरे । पालिकाको विषयगत क्षेत्रतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ ३५.०१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १५.६ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ १५.९२ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ ३६.६१ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ६.७६ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

चालु आर्थिक वर्षका लागि १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपियाँ बराबरको बजेट स्वीकृत गरेको थाहा नगरपालिकालाई हालसम्म ४८.२२ प्रतिशत वास्तविक आय भएको उपप्रमुख गोपालीले सभामा जानकारी गराए । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ७ वटा कार्यविधि पारित गरेको, आर्थिक वर्ष २०७८÷०७९ सम्मको बेरुजू मध्ये ५ करोड ५० लाख फछ्र्यौट गरेको, अनुमानित आन्तरिक आय मध्ये ६ करोड ३४ लाख ८१ हजार ९ सय २९ अर्थात २६.०९ प्रतिशत राजश्व संगलन भएकोलगायतका उपलब्धीहरु सभामा उपप्रमुख गोपालीले जानकारी गराए ।

यसैबीच थाहा नगरपालिकाको १४ औं नगरसभाले २ करोड ५७ लाख बजेट रकमान्तर गरेको छ । सभाले विभिन्न वडागत ४६ लाख, सहकारी शाखाको ५० हजार, प्रशासन शाखाको ५ लाख, वातावरण शाखाको ७ लाख, खेलकुद विकासतर्फ ५ लाख, सामाजिक विकासको ८ लाख, पशु विकासको १४ लाख, शिक्षाको ६ लाख बजेट रकमान्तर गरेको हो । त्यस्तै सूचना प्रविधिको ५ लाख ५० हजार, कृषिको ५ लाख ५० हजार, स्वास्थ्यको ५ लाख २५ हजार र योजना महाशाखा अन्तर्गत १ करोड २ लाख बजेट रकमान्तर भएको नगरपालिकाले जनाएको छ ।

सभाले करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद थप गर्ने, पालिकाको कर्मचारी संगठन संरचना, राजश्व परामर्श समितिले सिफारिस गरेको निर्णयहरुलाई समेत बहुमतले पारित गरेको छ । त्यस्तै नगरसभा अन्तर्गत रहने गरी विधायन समिति र लेखा समिति गठन तथा विकास तथा सुशासन समितिमा एकजना सदस्य थप गर्ने निर्णय समेत गरेको छ । नगरसभाकै अवसरमा थाहा नगरपालिकामा लामो समयसम्म करार सेवामा रही सेवानिवृत्त भएका धनलाल देउला, धनमायाँ देउला, तेज बहादुर थिङ र लोक बहादुर श्रेष्ठलाई जनही ५० हजार नगदसहित सम्मान तथा विदाई गरेको छ ।

सभामा सबै जनप्रतिनीधिहरु, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासन महाशखा प्रमुख नबिन खालिङलगायत पालिका तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी