मकवानपुर थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले हात पारेको छ । वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दे ७ नम्बर वडा विजयी भएको हो ।

प्रतियोगिताको विजयी टिमले नगद १ लाखसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता थाहा नगरपालिका वडा नम्बर १ ले नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाण पत्र पाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर थाहा–१ को प्रचण्ड गोपाली भए भने उत्कृष्ट खेलाडी वडा नम्बर १ कै टिम क्याप्टेन रोहित श्रेष्ठ घोषित भए । त्यस्तै सबैभन्दा बढि गोलकर्ता खेलाडी ७ नम्बर वडाका शुभराज घोले घोषित भए । त्यस्तै म्यान अफ द म्याच थाहा ७ का असिम तामाङ घोषित भएको सुनिल श्रेष्ठले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर ९ को खेल मैदानमा १० माघबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल १३ माघमा भएको थियो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो । १२ वटा वडा रहेको थाहानगरमा ५ नम्बर वडाको तर्फबाट प्रतियोगितामा सहभागिता हुन सकेको थिए । पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठ, ७ का अध्यक्ष शिवराज थिङ तथा वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार बलामी, खेलकुद विकास समिति थाहा ९ का अध्यक्ष अमर सिंह ठकुरीकालगायतकाको उपस्थिती थियो ।