जनकल्याण माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध कार्यक्रमसहितको तीन दिने समारोह समापन गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जिल्लाकै तेस्रो पुरानो विद्यालयले विविध कार्यक्रमसहितको तीनदिने कार्यक्रम २१ माघमा समापन गरेको हो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा समापन समारोह भएको थियो । कार्यक्रममा प्रमुख अतिथी मन्त्री मोक्तानले बागमती प्रदेश सरकारको शिक्षा नीति करिब अन्तिम चरणमा पुगेको बताइन् । स्थानीय सरकार र संघीय सरकारलाई समन्वय गरेर शिक्षाको कार्यक्रम सञ्चालन गर्ने नीति प्रदेश सरकारको रहेको कार्यक्रममा जानकारी गराइन् । बागमती प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पनि सो अवसरमा जानकारी गराइन् । मन्त्री मोक्तानले थपिन–‘विश्वविद्यालयले नर्स, डाक्टर लगायत देशको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नेछ ।’ अहिले पनि माध्यमिक तहमा पढाउने प्राविधिक विषयका शिक्षक समेत नपाइने अवस्था रहेको बताउदै मन्त्री मोक्तानले आवश्यक दक्ष जनशक्ति सकेसम्म जिल्लामा नै र नभए पनि प्रदेश भित्र उत्पादन हुनुपर्ने उल्लेख गरिन् । शिक्षालाई सिपसँग जोड्न बागमती प्रदेश सरकारले प्रदेश विश्वविद्यालय खोल्न लागेको उनको भनाइ थियो । गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै मोक्तानले त्यसको लागि पर्याप्त बजेट विनियोजन गरिएको मोक्तानको भनाइ थियो । पूर्वाधार निर्माण, आवश्यक सामाग्री र जनशक्तिको लागि अनुदानको व्यवस्था प्रदेश सरकारले गरेको उनले दाबी गरिन् ।

समापन समारोहको अवसरमा विद्यालयको उन्नयको लागि योगदान गर्ने संस्था तथा व्यक्तीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्रधानमन्त्री आधुनिक कृषि परियोजना चितवन, च्वाइस नेपाललाई संस्थागत सम्मान गरिएको छ । प्रमोदकृष्ण जोशी, दिग्विजय बिष्ट र जागृत रायमाझीलाई पनि सम्मान गरिएको हो । कार्यक्रममा झलकचन्द्र शिक्षा ज्योती छात्रवृत्तिबाट एसईइ २०७९ मा विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा ल्याउने र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिएको छ । एसईइमा उत्कृष्ट हुने जुनिला तामाङ ,दोस्रो हुने कृति ढकाल र तेस्रो हुने सविता आलेमगर र उत्सव प्रधानलाई छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने स्मारिका ढकाल प्रथम, अंकिता कार्की दोस्रो र मल्लिका खत्री तेस्रो हुनेलाई प्रदान गरिएको थियो । छात्रवृत्ति झलकचन्द्र शिक्षा ज्योतिका संस्थापक सुवासचन्द्र बिष्ट र कोषाध्यक्ष बिमलकुमार बिष्टले प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा भएको समापन समारोहमा जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारी, पूर्व विद्यार्थी हरीकृष्ण कार्की र पुरुषोत्तम कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षक राजाराम कार्कीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा, पालुङ बहुउद्देश्यीय सहकारीका लेखा संयोजक कालीचरण बस्नेत, पुर्वविद्यार्थी जनक ढकाल, नगर शिक्षा समिती सदस्य अर्जुन सुनारलगायत पुर्वविद्यार्थीहरु, विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अतिथीहरुलाई विद्यालयले मायाँको चीनो किताब दिएको छ । विद्यालयले स्मारिकाको साथै महाविर पुनको संघर्षपूर्ण विषयवस्तु समेटिएको किताब मायाँको चीनो दिएको हो ।

पालिका प्रेस
थप जानकारी