जिल्ला प्रशासन कार्यालय बैतडीले २२ वडासचिवलाई स्पष्टीकरण सोधेको छ । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका वडा नम्बर ६, दशरथचन्द नगरपालिका वडा नम्बर २, पाटन नगरपालिका वडा नम्बर ५, दोगडाकेदार गाउँपालिका वडा नम्बर २, डिलासैनी गाउँपालिका वडा नम्बर २, मेलौली नगरपालिका वडा नम्बर २, सिगास गाउँपालिका र पञ्चेश्वर पालिकाका एक÷एक वडाका सचिव छन् ।

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाए पनि बैतडीका धेरैजसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको हो ।

धेरैजसो वडामा कानुन नै नपढेर हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सूचना अधिकारी भारतीले भने, ‘२० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको, धेरैजसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको हो । पहिलो पटक उनीहरूलाई सचेत गराउन स्पष्टीकरण सोधिएको र दोहोरिए कानुनबमोजिम कारबाही गर्छौं ।’
विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एमआइएस अपरेटर राखे पनि अनलाइन दर्ता गर्ने कार्य नभएको हो । १ भदौ ०७५ पछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो ।
साथै, मुलुकी संहिता, २०७४ को दफा ७० को ‘घ’ अनुसार विवाह दर्ता नगरेको पाइएको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायत कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडासचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीले बताएको छ ।

पालिका प्रेस
थप जानकारी