हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय बालमैत्री विद्यालय घोषणा हुने भएको छ । २२ फागुनमा विद्यालयले एक कार्यक्रमको आयोजना गरी बालमैत्री विद्यालय घोषणा गर्न लागेको १८ फागुनमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेको २६ सूचक पूरा गरेसँगै बालजागृति बालमैत्री विद्यालय घोषणा गर्न लागेको उनले बताए । मकवानपुर जिल्लामा संस्थागत विद्यालयमा बालमैत्री विद्यालय घोषणा हुने बालजागृति पहिलो विद्यालय हो । ‘बालमैत्री विद्यालय घोषणा हुँदै गर्दा चुनौतिहरूधेरै छन् ।’ उनले भने –‘घोषणा हुन्छ तर यसको कार्यान्वयन हुँदैन । तर बालजागृतिले घोषणा गरेसँगै निरन्तरता दिनेछ ।’ ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका आउनु भन्दा अगावै बालजागृतिले धेरै सूचकहरु पुरा गरिसकेको थियो ।’ उनले भने –‘२६ सूचक मध्ये विद्यालय चारैतर्फ १०० मिटरको दूरी भित्र मद्यपान, धुम्रपान, सूर्तीजन्य वस्तु विक्री वितरण कार्यमा भने हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा कार्यालयले अनुगमन गरी विद्यालय आसपासको पसलमा विक्री वितरण गर्न रोक लगाएको छ ।’ बालमैत्री विद्यालय घोषणा गर्नको लागि दृढ इच्छा शक्ति पनि हुनुपर्ने उनले बताए ।

हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा कार्यालयका कार्यवहाक अध्यक्ष सुरज बर्तौलाले बालबालिकाको अधिकार सुनिश्चितताको लागि बालमैत्री विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘हेटौंडा उपमहानगरपालिका २ नम्वर वडामा ३ वटा विद्यालय रहेका छन् ।’ उनले भने –‘बालजागृति विद्यालयसँगै अरु विद्यालयसँग समन्वय गरी बालमैत्री विद्यालय घोषणा गर्ने छौँ ।’ कक्षा नर्सरी देखि १० कक्षासम्म बालजागृतिमा १ हजार ५ सय ३४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

पालिका प्रेस
थप जानकारी