थाहा नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । शिक्षा, युवा तथा खृेलकुद शाखाको आयोजनामा १८ फागुनमा प्रधानाध्यापकहरुका लागि अभिमुखीकरण गरिएको हो ।

पालुङ जेसिज सभाहलमा भएको अभिमुखीकरणमा थाहा नगर क्षेत्र भित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई थाहा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधव विक्रम मल्ल र सुर्य बहादुर थिङले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रमको अवसरमा अनिवार्य तथा निःशुल्क शिक्षाको विषयमा शिक्षा शाखाका थिङले प्रस्तुतिकरण समेत गरेका थिए ।

शिक्षा शाखा प्रमुख मल्लको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, सूचना प्रविधि शाखा प्रमुख भगिरथ कार्की, सूचना अधिकारी सुरजकुमार भुजेल, नगर प्रमुखका प्रेस संयोजक शम्भू अधिकारी, एमआइएइस फिल्ड सहायक अच्युत विडारी लगायतकाको उपस्थिती थियो । अभिमुखीकरणको अवसरमा चालु आर्थिक वर्षभित्रै थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने कार्य योजना समेत निर्माण गरिएको छ ।

चालु आर्थिक वर्षका लागि मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेश सरकारले छनौट गरेको थियो ।

पालिका प्रेस
थप जानकारी