मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले देशलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने जनशक्ति विद्यालयस्तरबाटै उत्पादन हुने भएकोले आधारभूत शिक्षामा सरकारले लगानी गर्नुपर्ने बताएका छन् । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले आधारभूत शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएकोले शिक्षाको विकासका लागि लगानी आवश्य भएको औल्याए । थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको दुर्गादेवी आधारभूत विद्यालयको ५५ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै सांसद बर्तौलाले यस्तो बताएका हुन् ।

कार्यक्रममा आधारभूत शिक्षा नै विकासको जग भएकोले यसतर्फ सबैको ध्यान जान आवश्यक भएको उनको भनाइ थियो । वि.सं. २०२५ सालमा स्थापना भएको दुर्गादेवी आधारभूत विद्यालयमा विद्यार्थीको आकर्षणसंगै स्तरोन्नती हुँदै गएकोमा सांसद बर्तौलाले खुशी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका पदाअधिकारी, समुदाय र शिक्षकहरुलाई धन्यवाद दिए । कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथी भरत गोपालीले शैक्षिक विकासका लागि स्थानीय तहको तर्फबाट सहयोग भैरहेको बताए । उपप्रमुख गोपालीले विद्यालय र समुदायको मागका आधारमा वार्षिक रुपमा बजेट विनियोजन गरिएको उल्लेख गरे ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चमेली वाइवा, थाहा नगरपालिकाका सामाजिक विकाश शाखा प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरजकुमार भुजेल, वडा सदस्यहरु, टोल विकास संस्था तथा विभिन्न संघसंस्थाका पदाअधिकारीहरुको आतिथ्यता रहेको थियो । विद्यालय क्षेत्रका अभिभावकहरुको समेत सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिराचन थापाले विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए ।

विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले नृत्यसहित साँस्कृतिक कार्यक्रम गरेका थिए ।