मकवानपुर थाहा नगरपालिकाको वडा न ४ रुप्से थिङ टोलका २१ वटा बाख्राको कुडो खाएको निहुँमा मरेका छन् । थिङटोलका अमृत थिङले पालेको १७ र दुधमाया थिङले पालेको ४ वटा बाख्रा मरेको थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए । किसान थिङका अनुसार–‘जेठ १ गते साबिक बमोजिम बाख्रा चरेर आएपछि आगनमा राखेको पानी खाएपछि बाख्राहरु एकाएक छटपटाएर मरेका हुन् ।’

पानीमा विष या रासायनिक मल परेको हुन सक्ने पशु प्राविधिक मिश्रले अनुमान गरे । मरेका बाख्रा मध्ये एउटा नमुनासहित पोष्ट मार्टमका लागि केन्द्रिय पशु प्रयोगशाला त्रिपुरेश्वरमा पोस्टमार्टमको १ जेठमै पठाइएको छ ।

अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रासहित, २ वटा खसी, ३ वटा बोका, ४ वटा पाठापाठी र छिमेकी दुधमाया थिङको माउबाख्रा २ वटा र पाठापाठी २ वटा सहित २१ वटा बाख्रा मरेको हो । पीडित किसानहरुको ५ लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।

‘४ वटा माउ बाख्रा त आज भोलि नै ब्याउने थियो’– कृषक अमृतले भने । १ जेठ दिउँसो ३ बजेको समयमा उक्त घटना भएपछि ईलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

पालिका प्रेस
थप जानकारी