मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ ७ गते जन्मिएकी गोमा पूर्ण अपाङ्ग छिन् । हालसम्म नागरिकता पाउन नसकेकोले उनले सामाजिक सुरक्षा भत्ता तथा अपाङ्गता परिचयपत्र समेत पाउन सकेकी थिइनन् ।

नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलसहित सहदेव आचार्य, मदन श्रेष्ठलगायतको टोली ५ जेठमा आग्राको खानीखोला पुगेका पुगेका थिए । नागरिकता वितरण कार्यक्रममा वडाध्यक्ष हेमकुमार थिङ, वडा सदस्य बद्री थापा, वडा कार्यालयका उमेश थापालगायत स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

 

थाहा नगरपालिका वडा नम्बर ८ आग्रा खानीखोलाकी गोमालाई ८ नम्बर वडाध्यक्ष हेमकुमार थिङ तथा स्थानीय दुतराज थिङको विशेष पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले घरैमा पुगेर भुजेललाई नागरिकता वितरण गरेको हो । जन्मजात नै पूर्ण अपाङ्गता भएकी गोमा बोल्न र हिँडडुल समेत गर्न सक्दिनन् । नागरिकता प्राप्त गरेसंगै अब उनलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रक्रिया अघि बढाउने वडाध्यक्ष थिङले बताए । अपाङ्ता परिचय पत्रका लागि मेडिकल अधिकृतको समेत चेकजाँच चाहिने भएकोले यसका लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसंग सहकार्य गरिने थिङको भनाइ छ ।

नागरिकता वितरण पश्चात् प्रक्रिया दिदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले भने–‘अरु पनि गाउँघरमा यस्ता असक्तहरु नागरिकताकै अभावका राज्यको सुविधाबाट वञ्चित कोही भए भन्नूस् हामी सहयोग गर्छौ ।’ यस अघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी, राक्सिराङलगायतका पालिकाहरुमा अशक्त÷अपाङ्गता भएकाहरुलाई घरैमा पुगेर नागरिकता वितरण गरेकोे थियो ।

पालिका प्रेस
थप जानकारी