मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरले १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको हो । विश्वव्यापी रुपमा आर्थिक मन्दीका बेला उपमहानगरले चालु आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व संकलन भएको छ ।

उपमहानगरले चालु आवमा ३० करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा २६ करोड ३५ लाख ३२ रुपैयाँ राजस् संकलन भएको उपमहानगरका राजस्व शाखाप्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए । उपमहानगरले एकीकृत सम्पत्तिकरबाट पाँच करोड ९४ लाख २० हजार, घर बहाल करबाट चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट दुई करोड पाँच लाख ४७ हजार, सिफारिस दस्तुरबाट दुई करोड ८६ लाख ३१ हजार संकलन भएको जनाएको छ ।

यस्तै, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट एक करोड ९६ लाख, ढुंगा, गिट्टी, बालुवा बिक्रीबाट एक करोड ८० लाख रुपैयाँ, नक्सा पास दस्तुरबाट ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत ५१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको श्रेष्ठले बताए । गत आव २०७९/८० को १० महिनाको तुलनामा यो करिब तीन करोड ८२ लाख २५ बढी राजस्व संकलन भएको हो । उपमहानगरले गत आव २०७९/८० मा ३४ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा साउनदेखि बैशाखसम्म विभिन्न शीर्षकमा २२ करोड ५३ लाख छ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ सम्म घरजग्गा र जिष्ट्रेसन शुल्क उपमहानगरले उठाउँदै आएकामा गत आव २०७९/८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व संकलन हुन थालेको छ ।

चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुंगा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको श्रेष्ठको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी