रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र पैकरा र लेखापाल राजन गुरागाई बिच रकम कोलममा हिसाब नमिल्दा हानाहान भएको छ ।

कर्मचारीको दैनिक भ्रमण भत्ता, गाडी मर्मतको रकम, इन्धन र अन्य योजना निमार्ण लगाएत रकमको हिसावमा प्रमुख प्रशासकिय अधिकृत र लेखापाल बिच तालमेल नमिल्दा उनीहरु बिच हात हालाहाल भएको हो । कर्मचारीहरुले आफुले पाउनु पर्ने रकम माग गर्दै लेखापाल समक्ष कागजात पेश गरेपछि उनले सोही कागजातको आधारमा चेक काटेका थिए । चेक काटेको बिषयलाई लिएर पालिका प्रमुख प्रशासकिय अधिकृत पैकराले लेखापाल गुरागाईलाई त ठूलो की म ठूलो भन्दै भनाभन गरेपछि सोही बिषयलाई लिएर दुई पक्ष बिच विवाद भएको हो ।

चेक काटेको बिषयलाई लिएर अधिकृत पैकराले बिबाद निकालेपछि लेखापाल गुरागाईले काटेको चेक गौश्वारा भौचर र अन्य कागाजतहरु च्यातेर अधिकृत पैकराको मुखमा फालेका थिए । अधिकृतसँग विवाद भएपछि पालिकामा काम नगर्ने भन्दै लेखापाल गुरागाई गोकुलगंगा फर्किएका छन् । अधिकृतसँगको बिवादको बिषयमा लेखापाल गुरागाईसँग सम्र्पक गर्दा उनले भने– केही कर्मचारीको दैनिक भ्रमण भत्ताको रकम दिन बाँकी रहेछ । उनीहरुले मसँग निकासा गरिदिन माग गरे । त्यही अनुसार चेक काटे । त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता गर्नुपर्ने रकम समपूरक कोष र बिशेषकोषको रकम फिर्ताको चेक र सामाजिक सुरक्षा भत्ताको रकम निकाल्दा खोज्दा अधिकृत पैकराले बिबाद निकालेपछि पालिकामा काम नगर्ने भन्दै फर्किएको लेखापाल गुरागाईले बताए ।

यता निमित्त अधिकृत पैकरासँग सम्र्पक गर्दा उनले लेखापाल गुरागाईले एकलौटी ढंङ्गले आर्थिक कारोवारको काम गरेको र आफुलाई कुनै जानकारी नै नदिएकाले समस्या भएको बताए । उनले भने– अधिकृत हुँदाहुँदै सोधपुछ नै नगरी आफुखुसी मनलाग्दी चेक काट्न पाइदैन नी ? मैले यसरी काम नगर्नुस् भन्दा उनले म तपाइसँग काम गर्न सक्दिन भनेर हिडे । अहिले कार्यालयमा लेखापाल नहुँदा सबै काम रोकिएको छ । पालिकामा अर्को लेखापाल ल्याउन कोषतथा लेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको अधिकृत पैकराले बताए ।

उमाकुण्ड गाउँपालिकाले समपूरक कोष र बिशेषकोसको रकम फिर्ता गर्नुुपर्नेमा अहिलेसम्म उक्त रकम फिर्ता नगरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका लेखापाल लक्ष्मण पोखरेलले जानकारी दिए । उनले भने– हामीले पटक–पटक प्रमुख प्रशासकिय अधिकृतलाई कोष फिर्ताको रकम पठाउन पत्राचार गर्दा समेत अहिलेसम्म उक्त रकम पठाएको छैन् । कोषतथा लेखा नियन्त्रक कार्यालयले गरेको पत्राचारको वेवास्था गरेपछि उमाकुण्ड गाउँपालिकामा जाने सबै बजेट रोक्का गरिएको पनि लेखापाल पोखरेलले बताए ।

राज्यले पालिकामा पठाउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नपठाएर निमित्तको भरमा कार्यालय संञ्चालन गर्न दिदा भ्रष्टाचार मौलाउँदै जाँदाको उदाहरण लेखापाल र अधिकृत विचको हात हालाहालले पुष्टि गरेको स्थानिय धनराज लामिछानेले बताए । उनले भने– पालिकामा आएको अधिकासं रकम कर्मचारीको मिलेमतोमा अनियमितता भएको छ । जेष्ठ नागरिकले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म जेष्ठ नागरिकले पाउन सकेका छैनन् । कर्मचारीकै भागभण्डा नमिल्दा उनीहरुकै मारामार परेको अवस्थामा स्थानिय नागरिकले के आशा गर्नु उनले प्रति प्रश्न गरे ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रसाकिय अधिकृत इश्वरी प्रसाद सुबेदी सरुवा भएर हिडेसँगै रिक्त रहेको उक्त गाउँपालिकाको प्रमुख प्रशासकिय पदमा स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र पैकरालाई निमित्तको रुपमा कामकाज गर्ने गरी जिम्मेवारी प्रदान गरेको थियो । त्यसैगरी सो पालिकामा कार्यरत लेखापाल गणेश घिमिरेको पनि सरुवा भएपछि हाल गोकुलगंगा गाउँपालिकाका लेखापाल राजन गुरागाईलाई उमाकुण्ड गाउँपालिकाको समेत काम गर्ने गरी कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापले जिम्मेवारी प्रदान गरेको  थियो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएसँगै पैकराले गाडी भाडामा लिने सम्झौता यातायात व्यवसायीको नाममा आफैले कार्यालयको तर्फवाट र व्यवसायीको तर्फवाट सम्झौता समेत गरेका छन् । उनले गाडी मर्मत र इन्धन खर्चको नाममा लाखौ रुपैयाँ अपचलन गर्दै आएको सो पालिकाका एक कर्मचारीले आफ्नो नाम नछाप्ने शर्तमा जानकारी दिए । उनले भने– “पालिकामा धेरै अनियमितता भएको छ, अनियमितताको बिषयमा छानबिन हुनु जरुरी छ ।”

पालिका प्रेस
थप जानकारी