मकवानपुर थाहा नगरपालिकाका सबै नागरिकले अब काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् ।
थाहानगरका नागरिकको स्वास्थ्य उपचारमा विशेष चासो दिदै थाहा–६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठको पहलमा नगरबासीले यस्तो सुविधा पाउने भएका हुन् । नगरपालिकाका १२ वटै वडाका बासिन्दालाई लक्षित गरी काठमाडौं मेडिकल कलेज (केएमसी) र सम्बन्धित अस्पतालहरूसँग स्वास्थ्य उपचार सहुलियत दिनेगरी वडाध्यक्ष श्रेष्ठले सम्झौता गरेका छन् ।
सम्झौताअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा थाहा नगरपालिकाका १२ वडाका जोसुकै नागरिकले ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगलस्थित अस्पतालमा २५ प्रतिशत र विराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।
उपचारका क्रममा बिरामीले ओपीडी तथा रजिस्ट्रेसन कार्ड निःशुल्क पाउने समेत सम्झौतामा उल्लेख भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर र प्रयोगशालाका परीक्षण सेवामा समेत थाहाका नागरिकले २५ प्रतिशत छुट पाउने सम्झौतामा लेखिएको छ ।

यो सुविधा लिन अस्पताल पुग्ने बिरामीले सम्बन्धित पक्षबाट जारी गरिएको सिफारिसपत्र वा ह्वाट्सएप ग्रुपमार्फत पठाइएको सिफारिस देखाउनुपर्नेछ । स्वास्थ्य बीमा नगराएका तथा बीमाबाट प्राप्त हुने सुविधा पूर्ण रूपमा उपयोग गरिसकेका बिरामीले पनि सम्झौताअनुसार नैछुट पाउनेछन् ।
यसैक्रममा थाहा नगरपालिकाका नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग पनि सम्झौताको लागि पत्राचार भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । ति दुवै अस्पताल थाहा नगरबासीलाई उपचारमा छुट दिन गरिएको प्रस्तावमा सकारात्मक भएको उनको भनाइ छ ।
अस्पतालसँगको सहकार्यले उपचारका लागि काठमाडौं पुग्ने थाहाबासीलाई आर्थिक भार कम गर्न र स्वास्थ्य सेवामा पहुँच सहज बनाउन मद्दत पुग्ने अध्यक्ष श्रेष्ठको प्रतिक्रिया छ ।















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्