मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध उच्च अदातल पाटन हेटौँडा इजलासमा रिट दायर भएको छ । २३ असारमा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले रिट दायर गरेका हुन् । संयुक्त रिट दायर गर्नेहरुमा वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर डिमडुङ, ७ का वडाध्यक्ष उत्तर बहादुर भोलन, ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ का वडाध्यक्ष पुनराम घलान छन् ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरिएको हो । २३ असारमा दायरको रिटको २४ असारका लागि पेशी तोकिएको छ । रिटमा उत्पे्ररषण परमादेश माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलानले निर्णय प्रक्रियामा सहभागी नगराएको, संविधान र कानुन विपरीत गाउँपालिकाको कार्य सञ्चालन, कार्यपालिका सदस्यमाथि गैरकानुनी हस्तक्षेप गरेको र गाउँसभा गैरकानुनी ढंगबाट सञ्चालन गरेको रिटमा उल्लेख छ ।

यस्तै बजेट तर्जुमा समितिलाई जानकारी नै नगराई नीति कार्यक्रमको प्रस्ताव पेश गरेको, पालिका अध्यक्ष अधिकारको दुरुपयोग गरी कार्य सञ्चालन गर्दा पालिकाको काम पूर्णरुपमा गैरकानुनी भएको, संविधानको पूर्णरुपममा उपेक्षा भएको र एकलौटी रुपमा कार्यपालिका सञ्चालन गरेको रिटमा उल्लेख गरिएको छ । बागमती गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउन सकेको छैन ।

यसअघि असार १० गते गाउँपालिकाका उपाध्याक्ष, केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याउन लागेको भन्दै गाउँसभा नै बहिष्कार गरेको थियो । उपाध्यक्ष अनुपस्थित भएपछि गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मात्र गाउँसभामा प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम भने बहुमतले पारित भइसकेको छ ।

पालिका प्रेस
थप जानकारी