मकवानपुर जिल्लाका १० वटा पालिकाको अद्यावधिक बेरुजु १ अर्ब ८४ करोड ४७ हजार रुपियाँ रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखा परीक्षणमा आर्थिक वर्ष २०७९/०८० सम्मको बेरुजु रकम यति धेरै रहेको पाइएको हो । मकवानपुरका स्थानीय तहको बेरुजुको अद्यावधिक रकमको अकार बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७८/०७९ सम्म मकवानपुरका स्थानीय तहहरुको अद्यावधिक बेरुजु १ अर्ब ५८ करोड १३ लाख ६१ हजार रुपैयाँ कायम रहेको थियो । सो आर्थिक वर्षको तुलनामा पछिल्लो अद्यावधिक बेरुजु २५ करोड ८६ लाख ८६ हजार रुपैयाँ बढि हो । अद्यावधिक बेरुजु प्रतिवेदन अनुसार थाहा नगरपालिका र कैलाश गाउँपालिकाको बाहेक अरु ८ वटा स्थानीय तहको अद्यावधिक बेरुजु बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७९/०८० सम्म्को अद्यावधिक बेरुजुको तथ्याङ्क अनुसार सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाको रहेको छ । हेटौंडाको ५१ करोड २२ लाख ४३ हजार रुपैयाँ बेरुजु छ । जिल्लामै सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाको ८ करोड २६ हजार बेरुजु रहेको छ । यो पालिका जिल्लाकै सबै भन्दा सानो पालिका पनि हो । दोस्रो बढि बेरुजु हुने पालिका मनहरी गाउँपालिका हो । मनहरीको ३१ करोड १० लाख ११ हजार रुपैया बेरुजु छ भने तेस्रो स्थानमा थाहा नगरपालिकाको १७ करोड ५१ लाख ७१ रुपैयाँ बेरुजु छ ।

त्यसैगरी भीमफेदी गाउँपालिकाको बेरुजु ९ करोड ४ लाख १६ हजार, मकवानपुरगढीको ११ करोड ९८ लाख ९७ हजार, बकैयाको १७ करोड २१ लाख २५ हजार रुपैयाँ बेरुजु रहेको छ । बागमती गाउँपालिकाको १४ करोड ५८ लाख २२ हजार, कैलाशको १४ करोड २४ लाख ७६ हजार र राक्सिराङको ९ करोड ८ लाख ६० हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाका यी १० पालिकाहरुको आर्थिक वर्ष २०७९/०८० को मात्र २९ करोड ५ लाख ८२ हजार बेरुजु रहेको छ । बाँकी १ अर्ब ५४ करोड ९४ लाख ६५ हजार रुपियाँ उक्त आर्थिक वर्ष भन्दा अघि देखिको अद्यावधिक बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।

पालिका प्रेस
थप जानकारी