
प्रदेश बीउबिजन गुणस्तर नियन्त्रणकेन्द्र हेटौंडाले एकसय बयान्नब्बे मेक्ट्रिकटन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा दुईसय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गर्ने लक्ष्य राखेकोमा झण्डै लक्ष्य अनुसारको बीउ प्रमाणीकरण गर्न सफल भएको हो ।
एक वर्षको अवधिमा केन्द्रले धानको ८५ दशमलव ९१ मेक्ट्रिकटन, गहुँको ७४ दशमलव ७२ मेक्ट्रिकटन र मकैको ३१ दशमलव ३७ मेक्ट्रिकटन बीउ प्रमाणीकरण गरेको प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र बाली विकास अधिकृत एवम् सूचना अधिकारी सिर्मला योन्जनले जानकारी दिइन् । बिशेष गरेर प्रदेशका चितवन, नुवाकोट र दोलखाको मुल बीउको प्रमाणीकरण गरिएको उनले बताइन् । चितवन, धादिङ, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुरमा उत्पादन भएको धान, गहुँ, मकै, तोरी, मुसुरो, कोदो, भटमास लगायतको बालीको प्रदेश बीउबिजन गुणस्तर निणन्त्रण केन्द्रले बीउ सिफारिस र प्रमाणीकरण गर्दै आएको प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाका सूचना अधिकारी योन्जनले बताएकी हुन् । उनले उमारशक्ति, चिस्यान र बीउको शुद्धताको आधारमा प्रमाणीकरण गर्ने गरेको बताइन् । प्रदेशमा खेत अर्थात बाली निरीक्षण बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बाली निरीक्षण बढेको तथ्यांक छ । केन्द्रको तथ्यांक अनुसार आव २०७९/८० मा एकहजार १८५ दशमलव ७२ हेक्टरमा बाली निरीक्षण गरिएकोमा गत आवमा २०८०÷८१ मा एकहजार २३३ दशमलव ८ हेक्टर क्षेत्रफलमा बाली निरीक्षण गरेको हो ।
धान ७०५ दशमलव ३१ हेक्टर, मकै ६५ दशमलव ८३ हेक्टर, गहुँ ४३८ दशमलव ६ हेक्टर, तोरी १२ दशमलव ९४ हेक्टर, पालुंगो १६ हेक्टर र कोदो ४ दशमलव ४ हेक्टर क्षेत्रफलमा गरिएको बाली निरीक्षण गरिएको हो । बीउको गुणस्तर नियन्त्रण, रोग लागेकालाई निष्कासित गर्न र उत्पादन, उमार शक्ति राम्रो भएको बीउका लागि बाली निरीक्षण गरिएको सूचना अधिकारी योन्जनको भनाई छ । केन्द्रको उन्नत बीउ उत्पादन प्रोत्साहन कार्यक्रम चार जिल्लामा सञ्चालन गरिएको थियो ।
चितवन, मकवानपुर, धादिङ र काभ्रेमा उन्नत बीउ उत्पादनमा प्रोत्साहन गर्न ५ सय ३५ दशमलव ७५ हेक्टरमा प्रोत्साहन गरिएको हो । क्षेत्र निर्धारणका आधारमा बीउ उत्पादनसँग जोडिएका समूह, सहकारी, कम्पनीका किसानलाई उन्नत बीउ उत्पादन गर्न प्रोत्साहन गर्ने हेतुले प्रतिहेक्टर १५ हजार र मूल बीउका लागि प्रतिहेक्टर २० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्