नवलपुरको कावासोती नगरपालिकाको १०औँ नगरसभाले विनियोजन ऐन, २०७८ को पहिलो संशोधन प्रस्ताव पारित गरेको छ । मंगलबार भएको नगरसभामा कावासोती नगरपालिकाका उपप्रमुख तथा प्रेमशंकर मर्दनियाले प्रस्तुत गरेको विनियोजन ऐन, २०७८ को पहिलो संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

नगर उपप्रमुख मर्दनियाले चालू आर्थिक वर्ष ०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न शीर्षकमा छुट्याइएको रकम आंशिक वा पूर्ण खर्च नहुने र कुनै अत्यावश्यक कार्य यसै आर्थिक वर्षभित्र गर्नुपर्ने भएकाले विनियोजन ऐन, २०७८ को पहिलो संशोधन प्रस्ताव गरिएको बताए । यस्तै, कृषि तथा पशुपक्षी विधेयक, २०७८ समेत पारित भएको छ । आर्थिक विकास समिति संयोजक लक्ष्मीप्रसाद पौडेलले सभासमक्ष उक्त विधेयक पेस गरेका थिए । उनले नगरभित्रका नागरिकको खाद्यसम्बन्धी हकको सुनिश्चितता र किसानको सशक्तीकरण गर्दै कृषि क्षेत्रको विकास र परम्परागत तथा आधुनिक कृषि प्रणालीको व्यवसायिकीकरण गरी आत्मनिर्भरताका लागि कृषि विधेयक निर्णयार्थ पेस गरिएको जानकारी दिए । उक्त विधेयक सर्वसम्मत पारित भएको छ ।

यस्तै, नगर उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको विविध प्रस्तावसमेत सभाले सर्वसम्मत पारित गरेको छ । प्रस्तावमा बालमन्दिर मन्टेश्वरी वडा नम्बर ५ लाई सञ्चालन अनुमति दिने, चालू आव ०७८÷७९ मा नेपाल सहरी शासकीय तथा पूर्वाधार कार्यक्रमअन्तर्गत निर्धारित कार्यान्वयन हुन नसक्ने आयोजनालाई वडा समितिको सिफारिसमा नगर समन्वय समितिले कार्यान्वयनयोग्य योजनामा परिवर्तन गरी कार्यान्वयन गर्न स्वीकृति दिनेलगायत विविध प्रस्ताव पेस गरिएको थियो ।नगरपालिकाको समीक्षा प्रगति प्रतिवेदनसमेत सभाले सर्वसम्मत पास गरेको छ । कावासोतीका नगरप्रमुख चन्द्रकुमारी पुनले सभामा पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । प्रतिवेदनमा पूर्वाधार विकासतर्फ नयाँ जिल्लाको सदरमुकामसमेत भएको हुँदा विभिन्न प्रशासनिक भवन, संरचना निर्माण, सडक यातायातको विस्तार र सुदृढीकरण, पर्यटन पूर्वाधार निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेसजालीसहितको वाल निर्माण, खानेपानी तथा सिँचाइ पूर्वाधार, विद्यालय तथा खेलकुद मैदान निर्माणका लागि नगरपालिकाले अग्रसरता लिएर काम गरेको जनाइएको छ ।

पाँच वर्षे कार्यकालमा नगरभित्रको ६४ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको, कच्ची सडक तथा सञ्चालनमा रहेको सडकको करिब १२८ किलोमिटर ग्राभेल तथा स्तरोन्नति भएको र नगरको विभिन्न स्थानमा गरेर १० किलोमिटर पक्की सडक मर्मत गरिएको, नगरको गौरवको योजनाभित्रको नगर चक्रपथ निर्माणलाई निरन्तरता दिँदै १० किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । स्वास्थ्य क्षेत्रमा आमा स्वास्थ्य कार्यक्रमबाट हालसम्म १८८१ गर्भवती तथा १७१७ सुत्केरी लाभान्वित भएको, कार्यक्रमका लागि आव ०७७/७८ सम्म २६ लाख ९० हजार रुपैयाँ खर्च भएको जानकारी नगरप्रमुख पुनले दिइन् । सामाजिक, आर्थिक विकास, संस्कृति तथा पर्यटन क्षेत्रमा समेत नगरपालिकाले उल्लेख्य काम गरेको उनको भनाइ छ । कार्यक्रममा विभिन्न वडाअध्यक्ष तथा सदस्यले आ–आफ्नो धारण र प्रश्न राखेका थिए । उनीहरूले राखेका प्रश्नको जवाफ नगरप्रमुख पुन र उपप्रमुख मर्दनियाले दिएका थिए । सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती तथा कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी