दन्तेलहर हिमालको दृश्य, विहानीको सुर्योदय । पाखाहरुमा चराको चिरबिर–चिरबिर, हरियाली वातावरण । स्वच्छ हावा, मनै लोभ्याउने सौन्दर्यता । यसै कारण पनि मकवानपुरको दामन सदाबहार छ । कहिल्यै पुरानो नहुने यसको सुन्दरताले नयाँ–नयाँ आयामहरू देखाइरहन्छ । हिउँको घुम्टोमा रहँदा होस् या मुटु छुने छिरेटोमा उति नै मनमोहक छ, दामन । वसन्त, गृष्म, शरद, शिशिर जुनै याममा दामनले यहाँ पुग्नेहरूलाई प्रफुल्लित बनाइ रहन्छ ।
यही गुणले मकवानपुर थाहा नगरपालिकाको पर्यटकीय भूमि दामनले आफूलाई सधैँ उचो राखिरहेको छ । आफू जति उचाइमा छ, दामन उती नै ऊर्जावान छ । पर्यटकहरुको स्वागत गरिरहन्छ । उसो भए, के हेर्न जाने त दामन ? यहाँ पुग्नेहरूले थाहा पाउँछन्, यो अनुभूत हुने विषय हो । छटपटी हुने गर्मी याममा पनि दामनमा बहने हिमाल छेवैको हावाको स्पर्सले यसरी सिन्चन गरिदिन्छ कि शरीरभर एकै छिनमा स्फूर्ति जगाइदिन्छ । प्रकृतिको बेजोड स्वरुपमा दामनले स्वागत गरिरहन्छ । मानौँ, जस्तै दुःखी शिशु पनि आमाको काखमा सहृदयी भइरहेको छ।

फोटोः पालिका प्रेस
वि.सं. २०१३ सालमा खुलेको नेपालकै पुरानो राजमार्ग त्रिभुवन राजपथले फन्को लगाएको दामन पर्यटकलाई नौलोपन दिन हरबखत तयार छ। बाइरोडको त्यही बाटो उक्लिएर दामन पुग्दा प्रकृतिको नवीनताले यात्रीमा नूतनता थपिदिन्छ । थानकोट, नौबिसे हुँदै ७५ किलोमिटर दूरी पार गरेर दामन पुग्न सकिन्छ । यो सबैभन्दा पुरानो र दबिलो बाटो हो । दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानी मार्खुबाट पनि दामन पुग्ने अर्को बाटो छ । दामन पुग्नका लागि चन्द्रागिरि हुँदै चित्लाङको बाटो पनि छ । तर यो छोटो बाटो अहिले निर्माणाधीन छ । अहिले चल्तिको बाटो यही हो । हेटौंडा तर्फबाट भैसे हुँदै १२ घुम्तीको सौन्दर्यतासहित ५५ किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।

फोटोः गणेश विष्ट/पालिका प्रेस
दामनमा उभिएर वरपर फन्को लगाउँदा अग्ला हिमालहरू आँखाअघि घुमिरहन्छन् । मकवानपुरकै सबैभन्दा अग्लो स्थान सिमभन्ज्याङमा स्थानीयपन सहितको खानपानको राम्रो व्यवस्था छ । पर्वतीय ताल, बुद्ध पार्क यहाँको आकर्षण हो । निर्माणाधिन पर्यटन सूचना केन्द्रले यहाँको प्रचार गर्ने लक्ष्य लिएको छ । दामन बजारमा उत्तिकै राम्रा तथा गुणस्तरीय होटल छन् । नेपालकै पहिलो शितल टावर दामनमै छ ।

फोटोः पालिका प्रेस
सिमभन्ज्याङदेखि दामन हुँदै नयाँगाउँसम्म होटलहरुको लहर छन् । सबै उस्तै राम्रा अनि गुणस्तरका होटल र रिसोर्टहरु । नास्ता खाने साना पसल र कफि हाउसहरु समेत भएको यो रुट हुँदै यात्रा गर्ने जो कोही पनि आफ्नो सवारीबाट एकपल्ट नओर्ली गन्तव्यतर्फ जाँदै जाँदैनन् ।

फोटोः गणेश विष्ट/पालिका प्रेस
थाहा नगरपालिकाको प्रमुखतः पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भिन्दै वेब पोर्टल पनि बनाइएको छ । नगरपालिकाकै पहलमा निर्माण गरिएको अनलाइन पोर्टलमा दामन सिमभनज्याङकामे मात्र होइन नगर क्षेत्रका सबै होटल र होमस्टेहरुको समेत लिष्ट हेर्न सकिन्छ । अनलाइनकै माध्यमबाट सम्पर्क गर्न सकिन्छ ।

फोटोः पालिका प्रेस
थाहा नगरपालिका कृषि र पर्यटनको उर्बर भूमि भएकोले यस विषयमा योजनावद्ध रुपमा काम गरिरहेको नगर प्रमुख विष्णु बहादुर विष्ट बताउँछन् । होटल व्यवसायीलाई ठीक–ठीक ढंगले सेवा दिन अभिप्रेरित गर्ने उद्देश्यले नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी सहितको अनुगमन टोलीले छड्के गरिरहेका हुन्छन् । पर्यटन व्यवसायी, स्थानीय सरकार र पर्यटकहरुको सन्तुष्टिबाटै थाहा नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन भैरहेको छ ।
थाहा नगरपालिकाको दामन, पालुङ, बज्रवाराही टिष्टुङ, आग्रा र चित्लाङ ६ वटै क्लष्टर पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट क्षेत्र हो । नगरपालिका क्षेत्रमा वार्षिक ६५ हजार पर्यटक भित्रने गरेको अनुमानित तथ्याङ्क छ ।
- थाहानगरका होटल तथा होमस्टे विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
























































प्रतिक्रिया दिनुहोस्