जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध मकवानपुरका बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये थाहा नगरपालिकाको बज्रवाराही सहकारी संस्थाले एकसाथ दुईवटा सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरको १९ औ वार्षिक साधारण सभाको अवसरमा बज्रवाराही बचत तथा ऋण सहकारी संस्थालाई जिल्लाको सर्वोत्कृष्ट सहकारी संघको रुपमा र सहकारी एकीकरण प्रोत्साहनको रुपमा सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०८०÷८१ को समग्र कारोवार, वित्तीय व्यवस्थापन, तरलता व्यवस्थान, सदस्यलाई प्रदान गरिएको सेवा, प्रविधिको प्रयोग आदिको आधारमा बज्रवाराहीलाई जिल्लाकै उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित गरिएको संस्थाका व्यवस्थापक रन्जित अर्यालले बताए । थाहा नगरपालिका वडा नम्बर ६ स्थित उक्त सहकारी र थाहा नगरपालिका वडा नम्बर १० स्थित उत्पीडित उत्थान बचत तथा ऋण सहकारी संस्था लि. बीच हालै एकीकरण भई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था बनेको हो । यसरी एकीकरण हुदाँ प्रोत्साहन स्वरुप प्रशंशा पत्र सहित सम्मानित गरिएको व्यवस्थापक अर्यालले बताए ।
हेटौंडामा सम्पन्न जिल्ला बचत तथा ऋण सहकारी संघको १९ औ वार्षिक साधारण सभामा बज्रवाराही सहकारी संस्थाका पदाधिकारीहरुले सम्मानपत्र ग्रहण गरेका थिए । संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए ।
सो अवसरमा बज्रवाराहीसँगै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई जिल्लाको सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मान गरिएको थियो ।
यसैबीच सोही अवसरमा संघले दैनिक कारोबारमा उत्कृष्ट ठहर गर्दै थाहा नगरपालिका वडा नम्बर ७ स्थित कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ ।
त्यसैगरी संघकै सर्वाधिक शेयर खरिद गरेको भन्दा थाहा नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थालाई पनि सम्मान गरिएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघको सेयर पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने एक अर्ब २९ करोड ६१ लाख रुपैयाँ बचत संकलन रहेको छ । विभिन्न कोषहरुमा ४ करोड ५५ लाख रुपैयाँ रहेको संघले सदस्य सहकारीलाई १२ करोड ९३ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्