जिल्ला समन्वय समिति मकवानपुरले विभिन्न १३ विधामा २४ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा ३ पुसमा उनीहरुलाई सम्मान गरिएको हो ।

समन्वय समिति मकवानपुरले स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनको आधारमा थाहा नगरपालिकासहित ५ पालिकालाई सम्मान गरेको छ । जिल्लामै सबैभन्दा बढि अंक ७३.५ प्रतिशत प्राप्त गरेको थाहा नगरपालिका र मनहरी गाउँपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा सम्मान गरेको हो । त्यस्तै ७१ प्रतिशत अंक प्राप्त गर्ने हेटौंडा उपमहानगरपालिका, ७०.५ प्रतिशत अंक प्राप्त गर्ने मकवानपुरगढी र कैलाश गाउँपालिका पनि सम्मानित भएका छन् ।
त्यसैगरी थाहा नगरपालिका वडा नम्बर १ की सानुमायाँ गोपाली उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका घोषित हुँदै पुरस्कृत भइन् । सहकारीतर्फ भोर्लेनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बागमती–५, उत्कृष्ट गैरसरकारी संस्था मकवानपुर पोजेटिभ समूह हेटौंडा–५ पनि पुरस्कृत भएको छ ।

उत्कृष्ट कर्मचारीको रुपमा इन्द्रसरोवर गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन खतिवडा र जिल्ला समन्वय समिति मकवानपुरकी सवइन्जिनियर पुजा यादव सम्मानित भइन् । समाजसेवी विधामा मामाघर नेपाल हेटौंडा–५ का अर्पण पराजुली र हिरण्य नेपाल हेटौंडा–२ की कल्पना शर्मा पुरस्कृत भइन् । खेलाडीतर्फ हेटौंडा ५ का बक्सिङ खेलाडी सोहन राइ र हेटौंडा ९ का अस्सु र कबड्डी खेलाडी शान्ति थिङ पुरस्कृत भएकी छन् ।

सामुदायिक वन उपभोक्ता समूहतर्फ मनकामना सामुदायिक वन उपभोक्ता समूह मकवानपुरगढी ४, मेलमिलापकर्तातर्फ राक्सिराङ ३ का थल बहादुर थापामगर र भिमफेदी १ की शर्मिला महत पुरस्कृत भएकी छिन् । सामुदायिक विद्यालयतर्फ प्रगती मावि हेटौंडा ९ र संस्थागततर्फ बालजागृति मावि हेटौंडा २ पुरस्कृत भएका छन् । गत शैक्षिक सत्रमा प्रगतीबाट ७५.७ र बालजागतिबाट ९८.७ प्रतिशत विद्यार्थी एसइईमा उतीर्ण भएका थिए । यो जिल्लामै सबैभन्दा बढि हो ।

त्यसैगरी घरेलु तथा साना उद्योगतर्फ अनुग्रही सिलाई प्रशिक्षण केन्द्र मनहरी ७ की लक्ष्मी प्रजा र श्रमजीवी महिला काष्टकला उद्योग हेटौंडा ५, पत्रकारतर्फ मनहरी ३ का गणेश दर्पण अधिकारी र हेटौंडा ६ की भावना रिजाल तथा कृषक समूहतर्फ जनजागरण कृषि तथा पशुपालन कृषक समूह बकैया ७ पुरस्कृत भएको जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्माले जानकारी दिइन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी एवं बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सम्मानपत्र वितरण गरेका थिए ।

सो अवसरमा प्रदेश प्रमुख देवकोटाले जिल्ला समन्वय समितिले चुस्त, दुरुस्त कार्य सम्पादन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । व्यक्तिले शान्त र एक्लै भएको बेला आफ्नो ब्रम्हले उचित र निष्पक्ष कार्य गरेको स्वमुल्याङ्कन गरेर गर्व महशुस गर्ने गरी काम गर्नुपर्ने देवकोटाको भनाइ थियो । ‘नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको ब्यवस्था छ । यस अनुसार जिल्लामा रहेका स्थानीय तहहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्नू’ देवकोटाले भने । राज्यका तीनै तहसंग समन्वय, विकास निर्माण अनुगमन, प्रकोप तथा बिपत् ब्यवस्थापन समन्वयमा समेत चुस्त रहनु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुको वार्षिक कार्यप्रगती, अवसर चुनौती तथा आर्थिक सवालमा समिक्षात्मक प्रस्तुती गरिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रीहरु कुमारी मोक्तान, एकालाल श्रेष्ठ तथा पूर्व सांसद प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुइटेलसहित सदस्यहरु, पालिकाका जनप्रतिनीधिहरु, सरकारी तथा गैर सरकारी स.घस.स्थाका पदाअधिकारुीहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी